नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा उडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बीरगन्जमा एमाले नेता तथा कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् । विद्या वृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार पर्साको वीरगञ्ज पुगेकी थिइन् ।वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार वृहत् महिला सम्मेलन आयोजना गरेको थियो । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् ।
राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका थिए ।
निर्देशन अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जयप्रकाश थारु, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जीतपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर विद्यालाई स्वागत गरेका थिए ।
