प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आन्तरिक नेतृत्व कलह उत्कर्षमा पुगेको छ । नेतृत्व हस्तान्तरणको बहसबाट सुरु भएको विवाद अब वाक्युद्ध हुँदै एउटै छातामुनि बस्नै नसक्ने अवस्थामा पुगेको छ। पार्टीभित्र बढ्दो तनावका बीच सत्तारूढ कांग्रेस र एमाले नेताहरूले पनि माओवादी फुटाउने नियतसाथ उक्साइरहेको माओवादी नेताहरूको आरोप छ। अध्यक्ष पुष्पकमल दाहाल र उप महासचिव जनार्दन शर्मा बीचको टकराब पार्टी विभाजनतर्फ उन्मुख देखिएको छ।
दाहालले नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने माग गर्दै आएको शर्माको आलोचना झेलिरहेका छन्। यता, शर्मा भने आफूलाई विचार राख्ने अधिकारबाट समेत वञ्चित गर्दै नेतृत्वले जबरजस्ती पार्टीबाट हटाउन खोजेको आरोप लगाउँछन्। दाहाल र शर्मा पक्षमा एकअर्काविरुद्ध आरोप–प्रत्यारोपको श्रृङ्खला तीव्र हुँदै गएको छ । आरोप–प्रत्यारोप मात्रै होइन दुई पक्षीय झडप समेत हुन थालेको छ । अखिल (क्रान्तिकारी)को निर्वाचनमा पराजय व्यहोरेका भुवनसिंह विष्टले कञ्चनपुरमा अखिल (क्रान्तिकारी)का उपमहासचिवमा निर्वाचित रामचन्द्र भट्टराईमाथि आक्रमण गरेपछि संस्थापन पक्ष आक्रमणमा उत्रिएको इतर पक्षले आरोप लगाएको छ ।
विष्ट अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष दाहाल पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएर पराजय व्यहोरका व्यक्ति हुन् । अर्का भट्ट भने महाधिवेशनबाट निर्वाचित अखिल (क्रान्तिकारी)को उपमहासचिव र सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् ।
गत आइतबार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा अखिल(क्रान्तिकारी)को आन्तरिक बैठक बसिरहेको बेला विवाद हुँदा विष्टले भट्टमाथि आक्रमण गरेका हुन् । उनले ढुंगा प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
६ साउनमा पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उपमहासचिव शर्माले कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा रूपान्तरण हुँदै गएको गम्भीर टिप्पणी गरेका थिए । उनले जनवादी केन्द्रीयताको नाममा दलहरूमा जनवाद हराएको र नेतृत्व प्रश्न सुन्न तयार नभएको आरोप लगाएका थिए । ‘अब कम्युनिस्ट पार्टीमा प्रश्न सुन्न सकिन्न, नेतृत्व जनताको कुरा नसुन्ने भयो, यस्तो प्रवृत्तिले पार्टी सामन्ती निरंकुशतामा परिणत भयो,’ शर्माले भनेका थिए।
उनले मनमोहन अधिकारीबाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरूले ‘असुली धन्दा’ गरेको आरोप पनि लगाए । अप्रत्यक्ष रूपमा दाहाललाई समेत सोही दायरामा राखेर शर्माले प्रहार गरेका थिए। जवाफस्वरूप प्रचण्डले पार्टी कमजोर पार्न खोज्ने ‘दलाल र बिचौलियाहरू’ कम्युनिस्ट हुन नसक्ने प्रतिक्रिया दिएका थिए।
अर्को दिनको कार्यक्रममा दाहालले फरक मतप्रति दमन नभएको दाबी गर्दै शर्मालाई पार्टीभित्र सिँगौरी खेल्न दिइएको उल्लेख गरे। तर नेतृत्वविरोधी शैली अस्वीकार्य भएको स्पष्ट पारे।
दाहाल–शर्मा टकरावबीच उपमहासचिव वर्षमान पुन प्रचण्डको पक्षमा खुलेर उभिएका छन्। पुनले दाहाललाई ‘राजनीतिक ब्रान्ड’ भन्दै नेतृत्व छोड्न नहुने तर्क गरेका छन्। ‘दाहालको ब्रान्ड भ्यालु अझै आवश्यक छ,’ पुनले भने, ‘जनयुद्धदेखि संविधान निर्माणसम्मको प्रक्रियामा उनको नेतृत्व अपरिहार्य थियो, अझै पनि छ।’
पूर्वमन्त्री मातृका यादवले पनि नेतृत्वको नाममा जोसुकैले चाहेर मात्र नेतृत्व गर्न नहुने भन्दै विचार र क्षमतासँग सुसम्बद्ध नेतृत्व चाहिएको बताएका छन्। उनले स्पष्ट रूपमा भने, ‘अहिलेसम्मको नेतृत्व क्षमता अरू कसैमा छैन, सबै दाहालकै नेतृत्वमा अघि बढ्नुपर्छ।’
शर्मापक्षीय नेताका रूपमा चिनिने पूर्वमन्त्री सुदन किरातीले हालैको केन्द्रीय समितिको निर्णय कार्यान्वयन नभएको भन्दै नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन् । उनले चारबुँदे प्रस्तावसहित पार्टी रूपान्तरण, शुद्धीकरण र सुदृढीकरणको माग गरेका छन् । चाकडी र चाप्लुसी प्रवृत्तिको विरोध गर्दै किरातीले नेतृत्व परिवर्तन अपरिहार्य भएको संकेत दिएका छन् ।
उनका अनुसार प्रश्न गर्नेहरूलाई पार्टी तोड्न खोजेको आरोप लगाउने प्रवृत्तिको वैचारिक प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ। अधिवेशन नगरी पार्टी विधि निर्माण हुन नसक्ने उल्लेख गर्दै उनले नेतृत्व जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।
