इरान-इजराइल युद्ध : घटनाकाे सृखला

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

शुक्रबार इरानविरुद्ध इजरायलले आक्रमण गरेयता दुई देशबीच एक अर्काविरुद्ध मिसाइल आक्रमणको शृंखला जारी छ । शनिबार मध्यराति पनि इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जवाफी कारबाही गर्‍यो । इरानको मिसाइल आक्रमणमा इजरायलमा धेरै क्षति भएको छ । हालसम्म प्राप्त तथ्यांक अनुसार इरानको मिसाइल आक्रमणमा परी १० जना इजरायलीको मृत्यु भएको छ ।

२ सय भन्दा बढी घाइते भएका छन् भने २० बढी बेपत्ता भएका छन् । त्यसलगत्तै इजरायलले फेरि मिसाइल आक्रमण गरेको छ । आइतबार बिहान इजरायलले इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । इरानको मध्य क्षेत्रमा रहेको यो सहर इरानको परमाणु संरचनाको मुख्य क्षेत्र हो । यसबाहेक इरानका अन्य सहरमा स्थित युरेनियम खानी र अन्य प्लान्टलाई पनि निशाना बनाइएको छ ।

इस्फहान नजिक इरानका केही ठूला सैन्य संचरना पनि छन् । जसमा एक ठूलो एयरबेस र मिसाइल बनाउने कारखाना पनि छ ।अप्रिल २०२४ मा पनि इजराइलले यस क्षेत्रलाई लक्षित गरी एक एयरफील्डमा आक्रमण गरेको थियो । ४८ घण्टा यता जारी संघर्षका क्रममा अब इजराइलले इरानको तेहरानमा स्थित रक्षामन्त्रालयलाई निशाना बनाइएको बताइएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इजरायली आक्रमणमा १३८ जना इरानी मारिएको दाबी गरेका छन् । यता अलजजिराले इरानी सरकारी निकायलाई उदृत गर्दै अहिलेसम्म ८० जना मारिएको बताएको छ । दुई दिनको लडाइँका क्रममा इरानका ९ जना परमाणु वैज्ञानिक र २० भन्दा बढी सैन्य अधिकारी मारिएका छन् । यस्तै ३५० भन्दा बढी घाइते छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा एयर डिफेन्स सिस्टमलाई सक्रिय गरिएको छ ।

जर्मनी, फ्रान्स र बेलायत कुराकानीका लागि तयार

जर्मनी, फ्रान्स र बेलायतले मिडिल इस्टमा जारी तनाव कम गर्नका लागि इरानसँग तत्काल कुराकानी गर्न आफूहरु तयार रहेको बताएका छन् । जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले यसको पुष्टि गरेका हुन् । तर तीनै देशले कुराकानीका लागि सर्त भने राखेका छन् । उनीहरुले इरानले पहिले नै कुराकानीको एक अवसर गुमाइसकेको र यो अन्तिम अवसर हुने बताएका छन् ।

मन्त्री योहानले भनेका छन्, ‘इरानले पहिले नै कुराकानीको एक अवसर गुमाइसकेको छ । आशा छ, यसपटकको अवसरलाई इरानले स्वीकार गर्नेछ ।’ उनले अगाडि  भनेका छन्, ‘तर यो कुराकानीको एकै सर्त हुनेछ, भविष्यमा इरान यूरोपका लागि खतरा नबनोस् ।’

ब्यालेस्टिक मिसाइल हानेको हुथीको दाबी

यमनबाट हुथी विद्रोहीले आफूहरुले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । पछिल्लो ३४ घण्टाको अवधिमा इरानसँग मिलेर इजराइलमा दुईवटा ब्यालेस्टिम मिसाइल हानेको र ती मिसाइल तेल अविवलाई लक्षित गरिएको हुथीको दाबी छ । यद्दपि इजरायली सेनाले यमनबाट कुनै पनि ब्यालेस्टिक मिसाइल आक्रमणको जानकारी नभएको बताएको छ ।

लडाइँ सहजै रोक्न सक्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी युद्धलाई सहजै अन्त्य गर्नसक्ने दाबी गरेका छन् । दुवै देशबीच एक सम्झौता गरेर युद्ध रोक्नसक्ने उनको दाबी छ । उनले ट्रुथ सोसियलमा लेखेका छन्, ‘अमेरिका इरानमाथि भएको आक्रमणमा कुनै हालतमा संलग्न छैन ।’

साथै उनले कुनै प्रकारले इरानले अमेरिकामाथि आक्रमण गरे त्यसको जवाफ अमेरिकी सेनाले पूरा शक्तिका साथ दिने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *