जटिल परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

२०७६ माघमा कोभिड–१९ (कोरोना) सङ्क्रमण सुरु हुँदा हङकङमा नमुना पठाएर कोभिड परीक्षण गर्नु परेको नेपालमा अहिले कोभिड मात्र होइन, जटिल किसिमका क्यान्सर रोग परीक्षणसमेत सहजै हुने गरेको छ ।

यसबाहेक सर्ने रोग मङ्किपक्सलगायतका रोग परीक्षण हुने गरेको छ । यो छ वर्षकै उपलब्धिलाई अझ सुदृढ गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जस्तोसुकै परीक्षण नेपालमा गर्न बजेट तथा जनशक्तिलगायतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै पनि परीक्षण विदेश नपठाउने योजना बनाएर काम अघि बढाएको छ ।

मन्त्री पौडेलको निर्देशनसँगै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हरेक परीक्षण हुने गरेको छ । टेकुस्थित प्रयोगशालामा बिहानैदेखि परीक्षणका लागि लामो लाम लाग्छ । बिहानै ‘होलबडी चेकअप’ गर्न पुगेका चाबहिलनिवासी तुलसा थपलियाले आत्मविश्वासले गर्दा पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पूर्ण परीक्षण गर्ने गरेको बताइन् । “पहिले पहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबारे केही पनि थाहा थिएन,” थपलियाले भनिन्, “विभिन्न सञ्चारमाध्यमबाट सरकारमातहतमा रहेको प्रयोगशाला सबैभन्दा उत्कृष्ट र विश्वासिलो रहेको जानकारी पाएपछि निरन्तर टेकुमा परीक्षण गर्न थालेको हुँ ।”

यस्तै काठमाडौँको कपन बस्ने कृष्ण बरालले छ/छ महिनामा जनस्वास्थ्य प्रयोगशालामै नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । चिकित्सकले सिफारिस गरेको दर्जनौँ परीक्षण निजी प्रयोगशालामा जाँदा १५ हजारसम्म तिरेको स्मरण गर्दै बराल भन्छन, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जान थालेपछि बढीमा चार हजार पाँच सयदेखि पाँच हजार लाग्ने गरेको छ ।” यति सस्तोमा सम्पूर्ण परीक्षण हुन थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नियमित ग्राहक भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मान्यता पाएको यो प्रयोगशालाले वार्षिक २० देखि २५ करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ । राष्ट्रिय प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले गएको आर्थिक वर्ष मात्र सरकारको राजस्व खातामा प्रयोगशालाको तर्फबाट २० करोड ५० लाख राजस्व जम्मा गरेको बताए  । डा. भट्टका अनुसार यो वर्षलाई सबै गरेर ४० करोड बजेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विनियोजन भएको छ । गत वर्ष सुरुमा २६ करोड बजेट पाएको प्रयोगशालाले पछि साढे चार करोड माग भएपछि कुल ३० करोड ५० लाख बजेट पाएको थियो ।

निर्देशक डा. भट्टले हाल क्यान्सरसम्बन्धी सम्पूर्ण परीक्षण नेपालमै हुने गरेको जानकारी दिँदै रगतको क्यान्सर (म्युनो हिस्टो केमेस्ट्री) बाट क्यान्सर निश्चित गर्ने र कुन किसिमको हो भनेर पत्ता लगाउन सकिने बताए  । स्तन क्यान्सरसम्बन्धी वंशाणुगत परीक्षण गर्न सम्भव भएको बताउदै  उनले प्रयोगशालामा अब अन्य अङ्गको क्यान्सर पत्ता लगाउने तयारी भइरहेको जानकारि दिए  । डा. भट्टका अनुसार अब फोक्सो, आन्द्रा, डिम्बाशय, मांसपेशी र हड्डीलगायतको क्यान्सर पत्ता लगाउने योजना छ ।

सो प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार ४०७ जनाले सेवा लिएको जानकारी दिदै  उक्त समयमा १२ लाख ६२ हजार ९५० वटा परीक्षण भएको बताए  । यो आइएसओ मान्यताप्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएको र  सस्तोमा गुणस्तरीय परीक्षण हुने भएकैले सेवाग्राहीको घुँइचो हुने गरेको जनाए  ।

उनका अनुसार मिर्गौला रोगका लागि हुने एचएलए परीक्षणका लागि विदेश लैजाँदा एक लाख रुपियाँसम्म लाग्ने गरेकोमा जनस्वास्थ्य प्रयोगशालामा कुल ३० हजारमा हुने गरेको छ ।  प्रयोगशालामा २५ रुपियाँदेखि परीक्षण शुरू हुने गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *