साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने गोल गर्न सकेन।
नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन्। उनले ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। पूर्णिमा राईले २ गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल गरे। खेलको ८औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले सुशीला केसीको पासमा उत्कृष्ट प्रहार गर्दै बललाई गोलमा परिणत गरेकी थिइन्।
थप गरिएको पहिलो मिनेटमा नेपालको डिफेन्डर सरिता कुमारी नाथले फ्री कीकमार्फत गोल गरिन्। नेपालको लागि सातौं गोल थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो। श्रीलंकाको भने लगातार तेस्रो हार हो। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार व्यहोरेको थियो।
