भोटेकोसीको बाढी वर्षाका कारण होइनः संभवत हिमताल बिस्फाेट

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रसुवाको भोटेकोसी नदिमा आएको बाढी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज  बिहान ३ बजे ठुलो बाढी एक्कासि आउँदा पानीको सतह साढे तीन मिटर बढेको थियो तर उक्त क्षेत्रमा पानी परेका कारण नभएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए  ।

नेपाल चिन सीमा नजिकै रहेको क्यान्जिङ मौसमी केन्द्र र धुन्सेमा रहेको मौसमी केन्द्रले रसुवाको सीमावर्ती क्षेत्रमा फाट्टफुट्ट मात्र पानी परेको देखाएको छ । उता पाल्पामा राखिएको मौसम जाँच राडारले समेत रसुवाको सीमावर्ती क्षेत्रमा २४ घण्टामा पानी परेको नदेखिएको विभागको ठहर छ । कसरी भएको हो ? भन्नेमा भूउपग्रहको तस्बिर हेरेर अध्ययन सुरु गरेको पराजुलीले जानकारी दिए  ।

रसुवाको भोटेकोसी माथिको तिब्बती क्षेत्रमा धेरै हिमतालहरू भएकाले हिमताल फुटेर हुनसक्ने समेत अनुमान विभागले गरेको छ । बाढीको प्रभाव रसुवा हुँदै भोटेकोसी र त्रिसुली नदिमा परेको छ । हाल बाढी घट्दो क्रममा रहेको छ ।

विभागले प्रारम्भिक अवलोकनका आधारमा पुष्टि गरे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ । विश्व मौसम सङ्गठनको भू उपग्रहको सिष्टममा हेर्दा समेत उक्त क्षेत्रमा पानी परेकाे देखिँदैन । बाढीले १८ जना बेपत्ता बनाएको छ भने सयौँको संख्यामा गाडी र भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेर फर्किएका छन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका थिए ।  प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *