तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्न आदेश, ३२ जना धरौटीमा छुटे

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार ढिला गरी ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।

जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि नै धरौटी माग गरेर छाडिएको थियो । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहस पछि अदालतले यो निर्णय गरेको हो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । यस अघि नै प्रहरीले हाजिरी जमानीमा छुटाउनेलाई कानुनी रूपमा कारबाही प्रक्रिया समेत अघि बढाएको छ । धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजार देखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा, पप्पुकुमार दास, प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु खतिवडा, विजय शाही, प्रहरी नायब निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटासमेतको जाहेरीले नेपाल सरकार वादी र दुर्गा प्रसाईंसमेत ५० जनालाई प्रतिवादी बनाएर राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो । हिंसात्मक प्रदर्शनमा संलग्न भएका उनी बाहेकका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर गर्ने तयारी चलिरहेको छ ।

तीन कुनेको प्रदर्शन हिंसात्मक हुँदा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए । गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् ।

गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारको क्रममा छन् । तिघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ उपचारकै क्रममा छन् । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांकमा छ ।

१५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको थियो । त्यसमध्ये ६३ चार पाङ्ग्रे र ६ दुईपांग्रे सवारी छन् । सिसिटिभी लगायतका अन्य भौतिक चिजहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *