वर्षाले उदयपुरका पहाडी सडक अवरुद्ध, गाउँबस्तीसँग सम्पर्कविच्छेद !

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनसुनको सुरुवातसँगै परेको केही घण्टाको वर्षाले उदयपुरका अधिकांश पहाडी सडकहरू अवरुद्ध भएका छन्। सर्वसाधारणको आवतजावत र अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ। शनिबार बिहान ३ देखि ८ बजेसम्मको लगातार वर्षाले कच्ची सडकहरू हिलाम्य र ठाउँ ठाउँमा पहिरो खसेर यातायात सञ्चालन हुन नसकेको हो।

लामो समयदेखि नाला निर्माण नगरिनु र सडकको स्तरोन्नति नहुनु नै सामान्य वर्षामै सडक अवरुद्ध हुनुको मुख्य कारण रहेको स्थानीय बताउँछन्। सदरमुकाम गाईघाटदेखि विभिन्न स्थानीय तहका मुकाम जोड्ने सडकहरूमा सवारी चल्न सकेका छैनन्। गाईघाट–रौतामाई मुकाम भुट्टार, सल्ले, नामेटार, आँपटार, ओख्रेनी, नामन्त, भदौरे, पाँबु, लाफागाउँ र डिल्लीबर खण्डका सडकहरू पूर्ण रूपमा प्रभावित भएका छन्।

रौतामाई–३ लाफागाउँका स्थानीय खिलराज राईका अनुसार बाटो हिलाम्य भएर मोटरसाइकलसमेत चल्न नसक्ने अवस्था छ। लिम्चुङबुङ गाउँपालिकाको बाराहा–गाईघाट जोड्ने मुर्कुची–माझखर्क–बाराहा खण्डको सडक पनि हिलो र पहिरोले क्षतविक्षत भएको छ।स्थानीय कृष्ण खत्रीले तीन घण्टामा पुगिने सदरमुकामबाट माझखर्क पुग्नै घण्टौँ लागेको गुनासो गरे। लिम्चुङबुङकै वडा नं-१ बाँसबोटे, २ ताम्लिछा, ४ बलम्ता र ५ जाँते जोड्ने आन्तरिक सडकहरू पनि काम नलाग्ने भएका छन्।

बलम्ताका वडाध्यक्ष छत्रबहादुर राई र जाँतेका वडाध्यक्ष कविचन्द्र राईले पनि आन्तरिक सडक भत्किँदा एउटा बस्तीबाट अर्कोमा जानआउन समस्या भएको सुनाए। गतवर्ष मात्र खनिएका जाँते–धुकुर्थुम–भार्के, जाँते–हिम्मा, बुईखा–खोस्टुङ–रुपला खण्डका सडक पहिरोले पुरिएका छन्। उदयपुरगढी गाउँपालिकाका मुकाम गढी–बर्रे, गढी–तावाश्री, गढी–डुम्रे र भलायडाँडा जोड्ने सडक पनि वर्षाले भत्काएको छ।

वडा नं-३ का अध्यक्ष मनोज कार्कीका अनुसार कच्ची सडक हिलाम्य र पहिरोले पुरिएर मोटरसाइकल चलाउनसमेत कठिन छ। मदन भण्डारी लोकमार्गको नेपालटारदेखि गाउँपालिका मुकाम गढीसम्म पुग्ने निर्माणाधीन कालोपत्रे सडकमा पनि हिलोले आवागमन ठप्प भएको छ। प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कालोपत्रेको काम भइरहेकाले वर्षामा हिलो भएको र वैकल्पिक रुट प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

बिकट गाउँपालिका ताप्लीका कच्ची सडकहरूको अवस्था पनि उस्तै छ। सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको बेतिनीदेखि गाउँपालिका केन्द्र रुपाटार जोड्ने सडक वर्षाले बिगारेको छ। वर्षा नहुँदा पनि घण्टौँ लाग्ने कटारी–बेतिनी खण्डको सडकको बेहाल अवस्थाले ताप्ली र कटारी नगरपालिकाका पहाडी भेगका बासिन्दालाई नगरमुकामसम्म पुग्न कठिनाइ भएको छ।

अधिकांश स्थानीय तहको आन्तरिक बजेट सकिएकाले अवरुद्ध सडक मर्मतका लागि प्रदेश र सङ्घीय सरकारसमक्ष बजेट माग्नुपर्ने बाध्यता रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर बताउँछन्।वर्षाको प्रारम्भमै देखिएको यो समस्याले आगामी दिनमा पहाडी क्षेत्रको जनजीवन थप कष्टकर बन्ने सङ्केत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *