जनता समाजवादी पार्टी नेपाल रुपन्देहीद्वारा आयोजित एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि थिए- पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव । जब उनी आफ्नो मन्तव्य राख्न थाले, कार्यकर्ताले हल्ला गरेको भन्दै एकाएक भाषण रोके र रिसाउँदै सोफामा गएर बसे ।
‘के गरौं ? छाडौं ? घर जाने ? म धन्यवाद दिएर जाऊँ त ? मलाई पनि छुट्टी,’ आफ्नो भाषण चलिरहेका बेला हल्ला गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यादवले भने, ‘हुन्छ, हवस् त यहाँहरु सबैलाई धेरै धन्यवाद ।’
‘धन्यवाद हजुरहरुलाई, केही साथीहरुको आग्रहमा चाँडै छाडिदिएको थिएँ । केही साथीको आग्रहमा पुन: सुरु गरें,’ उनले भने ।
यसअघि उनले शासन व्यवस्था बदलिए पनि मधेशी, अल्पसंख्यक, मुस्लिम, जनजातिको अवस्थामा परिवर्तन आउन नसकेको र कांग्रेस-कम्युनिस्ट झन्डामुनि रहेर संघर्ष गरे पनि उनीहरुको जीवनमा परिवर्तन आउन नसकेको बताएका थिए । ‘अरुको झन्डामुनि बसेर संघर्ष र आन्दोलन गर्ने तर फाइदा अर्कोले लिने भयो’, उनले भने, ‘मधेशमा जनसंख्या धेरै भएर पनि राज्यमा प्रतिनिधित्व कम भयो ।’ जनसंख्याका आधारमा राज्यको हरेक क्षेत्रमा भागीदारी पाउनुपर्ने उनले बताए ।
मुलुकमा नयाँ व्यवस्थाा आए पनि पुरानै शासकहरुले नै रजगज गरिरहेको दाबी उनले गरेका छन् । समान हकअधिकारका लागि लामो संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भए पनि शासकहरु नबदलिँदा जनताले परिवर्तनको खासै अनुभूति गर्न नपाएको भनाइ उनको छ ।
राज्यको साधन र श्रोत, प्रतिनिधित्व र नीति निर्माणको भूमिकाको पहुँच जनसंख्याका आधारमा लिनका लागि आम मधेशी, अल्पसंख्यक, मुस्लिम, जनजाति जागरुक, चेतनशील र संगठित हुन उनले आग्रह गरे ।