राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ। पार्टीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई दिउँसो १२ बजे काठमाडौंको बिजुलीबजार पुलमा भेला हुन आह्वान गरेको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण तर दृढ प्रदर्शन गर्ने योजना बनाएको छ। लिङ्देन स्वयं प्रदर्शनकारीको अगुवाइ गर्दै निषेधित क्षेत्रतर्फ अघि बढ्ने तयारीमा छन्।
प्रदर्शनलाई थप प्रभावकारी बनाउन पार्टीले आइतबार बिहान रणनीतिक छलफलका लागि नेताहरूलाई धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाएको छ। पार्टीका एक नेताका अनुसार, सो बैठकमा आन्दोलनको नेतृत्व सम्हाल्ने तीन जना कमाण्डर पनि तोकिने सम्भावना छ।
राप्रपाका नेतृत्व तहका केही नेताहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरसम्म पुग्ने रणनीति बनाएको बताएका छन्।
शिक्षक महासंघकाे आजकाे प्रदर्शन बिहान हुने
शिक्षक महासंघले आज गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आज भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो । आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।
अराजक भए कारवाहि गरिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि गृहमन्त्रालयले कडा चेतावनी जारी गरेको छ।
राप्रपाले तोकिएको निषेधित क्षेत्र उल्लङ्घन गर्दै आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संवैधानिक र कानुनी मर्यादा नाघे परिणाम गम्भीर हुने बताएको हाे ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीको नामबाट २०८२ सालको वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने अभिप्रायसहित आएका अभिव्यक्ति र समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता क्रियाकलाप संविधान र कानूनको प्रत्यक्ष उल्लङ्घन हुन्, जुन कुनै हालतमा स्वीकार्य हुँदैनन्।”
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कानूनको उल्लङ्घन गर्ने, अराजकता फैलाउने, र सामाजिक शान्ति र सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न जो कोहीलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिनेछ।”
साथै, मन्त्रालयले कुनै पनि प्रकारका उत्तेजक, हिंसात्मक वा गैरकानुनी गतिविधिमा नउत्रन सबै पक्षलाई आग्रह गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गरेको छ।