बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।

बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने भएको छ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ । डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ ।

डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताए  । उजले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको जनाए ।

“क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपियाँ बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट सुनिश्चितता आएको छ,” सिडिई योगेशले भने  ।

राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको र उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार लगभग तयार देखिएको उनले बताए  ।

बर्खेखोलादेखि डालाबेँसी सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउनेखालका नयाँ काम हुन सक्ने भएकाले जाइकासँग छलफल चलिरहेको छ । “अहिलेको अवस्था हेर्दा उनीहरूले गर्नेजस्तो देखिएकाले हामीले उक्त खण्डको बोलपत्र निकालेका छैनौँ,” सिडिई योगेशले भने  । उनले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उल्लेख गरे ।

उनले सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताए ।  क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्दा साबिकको सडक ट्र्याकबाटै सडक पुनर्निर्माण गरिने निर्णय भएकाे डिभिजन सडकले जनाएको छ ।

“बिपी राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोसीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने छ,” सिडिई योगेशले भने  । उनले भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको जानकारि दिए ।

बिपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ ।

कार्यालयले पहिलो चरणमा भकुन्डेबेसीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । खुर्कोटदेखि सिन्धुलीको चियाबारीसम्मको सडकलाई छोटो बनाउन सुरुङमार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।

बिपी राजमार्गमा आगामी मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरेको छ । कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँ लगायतका डिभिजनबाट एक्साभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए  ।

“बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माणसामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ,” सिडिई  योगेशले भने ।

उनले वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको काम सम्पन्न हुने बताए । बाढीले क्षति पु्र्याउन सक्ने र अप्ठ्यारो स्थानमा तारजाली राख्ने कामसमेत भइरहेको छ । असोजभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको डिभिजन सडक भक्तपुरले जनाएको छ ।

कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्ति व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुन्डेबेँसी, तेमाल, मेच्छेपौवा हुँदै सिन्दुरेटारबाट वैकल्पिक सडक सञ्चालन गरिने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *