पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९ चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले साे कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।

मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एकसय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई  पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो ।

वडाध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको र   सोही आधारमा  उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्न समेत लिखित निर्देशन दिएको बताए ।  निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाउन निर्देशन दिइएको छ ।

यसअघि वडाध्यक्ष बलामीले एक सूचना जारी गर्दै वडा कार्यालयले वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबिच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाएका थिए  । तर उनले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । कुनै लगानीबिना मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असुली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सूचना नै जारी गरेर उक्त कार्य रोक्न निर्देशन दिने निर्णयमा पुगेको थियाे  ।

कम्पनीले थाहाका नगरप्रमुख, उपप्रमुख र वडा नं. ९ का वडाध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपियाँ उठाउँदै आएको दाबी गरेकाे छ ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले चन्द्रागिरि हिल्ससँगको सहमति उल्लङ्घन गर्दै नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएकामा आफूहरूले असहमति जनाउँदै आएको जानकारी दिए  । उनले थाहा नगर, इन्द्रसरोवर र चन्द्रागिरिका बासिन्दासँग नलिने अरूसँगलीने गरेकामापनि पछि आफूहरूले आपत्ति जनाउँदै कसैसँग पनि अनधिकृत रूपमा लिन नपाउने व्यवस्थापनलाई सुझाएको बताए ।

यस्तै थाहा नगरपालिकाका ९ र १० नं. वडा चन्द्रागिरि नगरपालिकाका केही वडा, इन्द्रसरोवरका ४ र ५ नं. वडाका बासिन्दालाई केबुलकार भाडामा छुट दिने गरेको आफूहरूको तीन वटै पालिकाका सबै नागरिकले छुट पाउन पर्छ भनेपछि २५ प्रतिशत छुट दिने गरी सहमति भएको उनले सुनाए । स्थानीयलाई परिचयपत्रका आधारमा केबुलकार भाडामा २५ प्रतिशत छुट दिने गरी सहमति भएको छ ।

यस्तै वडा नं. ९ का वडाध्यक्ष बलामीले चन्द्रागिरि हिल्सले नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएको जानकारी आएपछि यसअघि रोक्न दबाब दिएपछि रोक्ने प्रतिबद्धता कम्पनीले जनाएको बताए  ।  केबुलकार सञ्चालनमा आउनुभन्दा अघिबाट प्रयोग हुँदै आएको पुरानो पैदलमार्गमा शुल्क लगाइएको हो ।

यसैबिच मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई वडा कार्यालयले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ ।

वडाध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मङ्गलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जाँदा कुनै शुल्क बुझाउनु नपर्ने बताए  ।

उनले भालेश्वर मन्दिर जान पैदल यात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदल यात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरि हिल्सलाई  वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताए  । वडाध्यक्ष तितुङद्वारा जारी सूचनामा  इन्द्रसरोवर गाउँपालिका को वडा नं. ५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरि हिल्स ले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकाले तत्काल सो कार्य बन्द गर्न यसै सूचनाद्वारा निर्देशन दिइएको छ । साथै हालसम्म सङ्कलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *