मुस्ताङ–काठमाडौँ रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आउन लागेकाे छ । मुस्ताङ–मुक्तिनाथ सेवा प्रालिले आजदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान [इभी] सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरि शुभारंम्भ गरेका थिए । यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताउदै यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए ।
बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए । मुस्ताङ–मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ–कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले रु दुई हजार चार सयमा मुस्ताङ–काठमाडौँ यात्रा गर्न पाउने भएका छन् ।