नेपालको लागि नयाँ प्रजातिको चरा फेला परेको छ। पूर्वी नेपालको झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा क्षेत्रमा ‘पर्पल रम्प्ड सनबर्ड’ फेला परेको हो।
समुद्र सतहतबाट १३३ मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको पर्पल रम्प्ड सनबर्ड चरा अभिलेख गरिएको नेपाल बर्ड रेकर्ड कमिटीका संयोजक डा. तुलसी सुवेदीले बताए । उनका अनुसार नेपालका चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनको क्रममा फागुन ७ गते बिहान ८ बजेर ३०को समयमा चराको अभिलेख गरेका हुन ।
चराविद् खरेलले मेचीनगर क्षेत्रको एक आवासीय भवन परिसरमा रहेको एभोकाडो रुखमा पहिलोपटक उक्त चराको भालेपोथी दुबै देखेपछि लगातार दुई दिनसम्म अवलोकनका क्रममा सोही ठाउँमा पर्पल रम्प्ड सनबर्डको अभिलेख गरेको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए । चराविद् खरेलले देखेसँगै अर्का चराविद् अनिष तिम्सिना, चक्र तिम्सिना र शकर लुइटेलले पनि चराको अवलोकन गरेकाे जनाइएको छ।
चराविद् खरेलले भेटिएको चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेका थिए । नौलो देखिएको चराको यकिन गर्न खरेलले नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाएकाे र प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्को राय सुझाव प्राप्त भएपछि पुष्टि गरी नेपाली नाम ‘बैजनी बुंगे’ चरा राखिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।
प्यासेरिफर्म्स वर्गको नेक्टारिनायडी परिवारमा पर्ने यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने र यी क्षेत्रमा प्रजनन पनि गर्ने डा. सुवेदीले बताए । विश्वमा यस चराको दुई उपप्रजाति एल जेठ फ्लाभिभेन्ट्रिस र एल जेठ जेलोनिका अभिलेख भएका छन्। नेपालमा अभिलेख भएको चरा एल जेठ फ्लाभिभेन्ट्रिस उपप्रजाति मा पर्ने पर्पल रम्प्ड सनबर्ड भएको उनले बताए ।
नेपालको अभिलेखमा थप एउटा प्रजातिको संख्या थप भएको छ। नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुगेको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।