भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताए ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजा
महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ ।
बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला
महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।
सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताए । पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि आज बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भएकोमा साेहि अनुरूप चारवटै ढाेका खाेलिएकाे छ ।
पशुपति क्षेत्रमा शान्ती सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ काेषले जनाएकाे छ ।
आज नेपाली सेना दिवस
नेपाली सेना दिवस कहिले मनाइन्छ ?
विगतमा, सेना दिवस माघ ५ मा राजा पृथ्वीनारायण शाहले वि.स. १८१८ मा गोर्खाली सेना स्थापना गरेको सम्झनामा मनाइन्थ्यो। नेपाल एकीकरण पछि, सेना रोयल नेपाली सेनाको रूपमा नामकरण भयो । सन् २००५ मा, सेना दिवसको उत्सव माघ ५ बाट महा शिवरात्रिमा सारिएको थियो। वि.स. २०६५ मा, राजतन्त्रको अन्त्य पछि, सेनालाई नेपाली सेना नामकरण गरियो। सेनाले देशको सुरक्षामा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ।
सेना दिवस कसरी मनाइन्छ ?
सेना दिवसको सबैभन्दा ठूलो उत्सव काठमाडौंको टुँडिखेलमा रहेको नेपाली सेना पविलियनमा आयोजना गरिन्छ। राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख जस्ता महत्त्वपूर्ण नेताहरू यस कार्यक्रममा उपस्थित हुन्छन्। उत्सवका प्रमुख कार्यक्रमहरूमा सैन्य परेड, तोप सलामी, राइफल र तोप दाग्ने, विभिन्न प्रकारका हतियार, गोला बारुद र सवारी साधनहरूको प्रदर्शनी, र सांस्कृतिक कार्यक्रमहरू समावेश छन्।
सुरक्षा बाहेक अरु भूमिका
नेपाली सेनाले देशको सुरक्षा मात्र नभई अरु महत्त्वपूर्ण भूमिका खेल्छ। नेपाली सेना संयुक्त राष्ट्र शान्ति मिसनमा सक्रिय रूपमा सहभागी हुन्छ र विश्वका विभिन्न भागहरूमा शान्ति कायम गर्न मद्दत गर्छ। सेनाले विपदमा राहतमा पनि अग्रिम भूमिका निर्वाह गर्दछ र भूकम्प, बाढी र अन्य प्राकृतिक प्रकोपको समयमा तत्काल सहायता प्रदान गर्दछ। यसका साथै, सेनाले देशको विकासमा योगदान पुर्याउन सडक, पुल र अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माणमा पनि सक्रिय रहन्छ, विशेष गरी ग्रामीण भागमा जहाँ यी संरचनाहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्।