विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । आइतबारदेखि हुने भनिएको सो कार्यक्रमका लागि आयोजकले त्यहाँ विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरिसकेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले विज्ञप्ति जारी गर्दै वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरेर क्यूआर प्राप्त गरेका सहभागीलाई भने पूर्व निर्धारित समयमै चक्र विज्ञान कार्यक्रममा सहभागी गराइने जनाएका छन् । दर्ता प्रक्रियामा रहेकालाई अर्को वैकल्पिक मिति र स्थान व्यवस्था गरी उपयुक्त तवरले जानकारी गराइ नाम दर्ता गराउने विज्ञप्तिमा उल्लेख छ ।
१० दिने कार्यक्रममा दैनिक १० हजार जनाको संख्यामा मानिस उतार्ने तयारी आयोजकको थियो । दैनिक खेलकुदका गतिविधि हुने पोखरा रंगशालामा उक्त कार्यक्रम हुन लागेपछि खेलकुदका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । वैकल्पिक स्थानबारे आयोजकले जानकारी दिइसकेको छैन ।
यसैबीच, पोखरा रंगशालामै १० फागुनमा हुने भनिएको ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा हुने जनाइएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।
