सन् २०२४ मा १ सय २४ जना पत्रकार मारिएका छन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को प्रतिवेदनअनुसार यो वर्ष १८ देशमा पत्रकार मारिएका छन्। जसमध्ये सबैभन्दा धेरै पत्रकार इजरायलले मारेको छ। ती सबै प्यालेस्टाइनी पत्रकार हुन्। इजरायल गाजा युद्धमा ८५ जना पत्रकार मारिएका छन्।
हम्जा, अल जजिराका गाजास्थित ब्युरो प्रमुख वेल अल दहदौहका छोरा हुन्। आफ्नो छोरा मारिनुअघि इजरायली आक्रमणबाट वेल अलले परिवारका अन्य चार सदस्यहरू गुमाएका थिए। इजरायलले हम्जा अल दहदौहलाई हमासको सैन्य सहयोगी रहेको दाबी गरेको छ भने परिवारका सदस्यले यसको इन्कार गरेका छन्। अल जजिराले आफ्नो सदस्यविरुद्ध इजरायली सेनाले लगाएको आरोपलाई ‘निराधार’ भएको बताएको छ।
प्रमाण नदिई पत्रकारहरूलाई आतंककारीको रूपमा गाली गर्ने नीति अधिनायकवादी शासन र कथित लोकतान्त्रिक देश दुवैले एकै किसिमले अपनाएको देखिएको छ। सीपीजेले यो विषय अन्तर्राष्ट्रिय समुदायलाई बारम्बार सम्बोधन गर्न आह्वान गरेको छ । सीपीजेले थप २० पत्रकार हत्याका घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। जसमा इजरायलले विशेषगरी पत्रकारहरूलाई लक्षित गरेको हुन सक्ने उसको विश्वास छ। ‘अन्तर्राष्ट्रिय मानवीय कानुनमा पत्रकारहरूलाई नागरिक मानिन्छ र उनीहरूलाई द्वन्द्वमा लक्षित गर्नु युद्ध अपराध हो’, सीपीजेको प्रतिवेदनमा उल्लेख छ। इजरायल–हमास द्वन्द्वमा मारिएका पत्रकार अहमद अबु स्केइल र उनकी बहिनी जाहरा अबु स्केइल दुबै नोभेम्बरमा स्कुल बम विस्फोटमा परेका थिए। तीन जना मारिनेमा उनका पत्रकार भतिजा पनि थिए। दक्षिणी लेबनानमा इजरायली हमलामा विसाम कासेम, घसान नज्जर र मोहम्मद रेदाको हत्या भएको थियो। स्वतन्त्र फोटोग्राफर, १८ वर्षीय अल हसन हमाद पनि अक्टोबर ६ मा ड्रोन हमलामा मारिए। हमाद मारिने पत्रकारमध्ये सबैभन्दा कान्छो पत्रकार रहेको सीपीजे प्रतिवेदनमा उल्लेख छ।
सन् २०२४ मा तीन दशककै उच्च
यो वर्षको रेकर्ड पछिल्लो तीन दशककै सबैभन्दा उच्च भएको प्रतिवेदनमा उल्लेख छ । सन् २००७ को रेकर्डलाई यो वर्षले तोडेको छ। सन् २००७ मा १ सय १३ जना पत्रकारको मृत्यु भएको थियो। त्यतिबेला इराक युद्ध चलेको थियो। यस वर्ष इजरायल प्यालेस्टाइन युद्धका क्रममा यति धेरै पत्रकार मारिएका हुन्। उनीहरूमध्ये धेरै कामको सिलसिलामा नै मारिएका हुन्। २४ जना पत्रकारलाई निसाना बनाएर नै मारिएको प्रतिवेदनमा उल्लेख छ। जसमा गाजा र लेबनानमा १० वटा यस्ता घटना छन्, जहाँ पत्रकारलाई नै लक्षित गरेर मारिएको छ।
१६ देशमा ३९ पत्रकार मारिए
सीपीजेको प्रतिवेदनअनुसार अन्य १६ देशमा ३९ जना पत्रकार मारिएका छन्। इजरायल गाजा क्षेत्रपछि सबैभन्दा धेरै सुडान र पाकिस्तानमा पत्रकार मारिएका छन्। जसमा सुडान र पाकिस्तानमा ६÷६ जना पत्रकारको हत्या भएको छ। त्यस्तै मेक्सिकोमा ५, सिरियामा ४, म्यान्मारमा ३, इराकमा ३ र हाइटीमा २ जना मारिएको उल्लेख छ।
हाइटी, मेक्सिको, पाकिस्तान, म्यानमार, मोजाम्बिक, भारत, इराक र सुडानका १४ पत्रकारको हत्याको कारणबारे सीपीजेले वर्गीकरण गरेको छ। जसमा हत्याबाहेक युद्ध वा क्रस फायरमा पनि पत्रकारको मृत्यु भएको छ।
सुडानमा पछिल्लो दुई वर्ष चलेका गृहयुद्धले हजारौंको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन् । यसै क्रममा तीन पत्रकार पनि कामको सिलसिलामा मारिएका छन्। अन्य दुई सञ्चारकर्मीसहित चार जना पत्रकार पनि मारिएका छन्। यसका विषयमा सीपीजेले अनुसन्धान गरिरहेको छ । सन् २०२१ देखि पत्रकारको हत्या रोकिएको पाकिस्तानमा फेरि सन् २०२४ मा ६ जना मारिएका छन्। राजनीतिक अशान्ति र मिडिया सेन्सरसिप बढ्दै गएपछि त्यहाँ पत्रकार मारिएका हुन् । पाकिस्तान र सुडानमा इजरायलपछि सन् २०२४ मा विश्वव्यापी रूपमा दोस्रो सबैभन्दा बढी पत्रकार मारिएका छन्।
मारिएका एक तिहाइभन्दा बढी (४३) पत्रकार र मिडियाकर्मी स्वतन्त्र थिए । उनीहरूका संस्था नै ध्वस्त भएपछि उनीहरूले स्वतन्त्र रूपमा पत्रकारिता गरिरहेका थिए। ती मध्ये ३१ जना स्वतन्त्र पत्रकार गाजामा मारिए। सन् २०२३ मा १४ स्वतन्त्र पत्रकार गाजामा मारिएका थिए। गाजामा मारिएकामध्ये धेरै पत्रकारहरू आफ्ना संस्था ध्वस्त भएपछि स्वतन्त्र भएका हुन्। अन्तर्राष्ट्रिय मिडियाले पनि उनीहरूकै भर पर्नुपर्ने अवस्था थियो। किनभने इजरायलले सेनाको नेतृत्वमा कडा नियन्त्रित भ्रमणहरू बाहेक विदेशी पत्रकारहरूलाई सो क्षेत्रमा प्रवेश गर्न निषेध गरेको थियो। सीपीजेले सरकार, मानवअधिकारवादी संघसंस्था, मिडिया हाउस, पत्रकारको सुरक्षालगायतका विषयमा विभिन्न सुझाव पनि दिएको छ।