पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा दौडिनेसमेत गरेर कुल १० हजारले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथन (४२.१९५ किमि) दौडमा २१ देशका ८० विदेशी धावकसहित १५० जना दौडिने अध्यक्ष गुरुङले जानकारी दिए । जसमा ८ जना महिलासमेत रहेको उनले बताए ।
प्रतियोगिताको हाफ म्याराथन (२१.०१९७ किमि) पुरुषतर्फ १० विदेशीसहित ११० जना र महिलातर्फ १० विदेशीसहित ४० जना दौडिने उनले जानकारी दिए । त्यस्तै, १० किमि पुरुषतर्फ ११ विदेशीसहित २११ ज्ना र महिलातर्फ ११ विदेशीसहित १०९ जना दौडिने उनले बताए ।
प्रतियोगिता अन्तर्गत ५ किमि भेट्रान्स प्रतियोगितको पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले सहभागिताका लागि नाम दर्ता गराईसकेको मञ्चका महासचिव केशव पाठकले जानकारी दिए ।
म्याराथनको रन फर फनमा करिव ७ हजार जना दौडिने जनाइएको छ । उनका अनुसार धावक र खेलाडी गरेर १० हजार बढी म्याथनमा दौडिनेछन् ।
१४ विभिन्न विधामा हुने ईभेन्टका लागि कुल २१ लाख ३४ हजार नगद पुरस्कार रहेको मञ्चले जनाएको छ । मुख्य ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन प्रतियोगिताको बिजेताले ५ लाख नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने जनाइएको छ । रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लन चोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेजबहादुर गुरूङले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाईगण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकाको संरक्षकत्व रहेको म्याराथनलाई पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले वि.स.२०७२ देखि हालसम्म अनवरत रुपमा मूख्य प्रायोजन गर्दै आएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।