उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा शनिबार दिनभर तोडफोड र प्रदर्शन भएको छ।चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
अस्पतालमा उत्पन्न तनावपूर्ण स्थितिलाई साम्य पार्न र दोषीमाथि कारबाही गर्न पाँच बुँदे सहमति भएको छ। वीरगन्ज महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीका अनुसार उपचारको समयमा ड्युटीमा रहेका २ जना डाक्टर र ३ जना कर्मचारी गरी ५ जनालाई जिम्मेवारीबाट हटाउने सहमति भएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, वडा अध्यक्ष चतुर्वेदी, सुरक्षा निकायका प्रतिनिधि र मृतकका आफन्तहरूबीच घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्नेलगायतका सहमति भएको हो।
प्रहरीका अनुसार छाती दुख्ने समस्या देखिएपछि वीरगन्ज महानगरपालिका–२५ का राजकुमार पटेल शनिबार बिहान नारायणी अस्पताल भर्ना भएका थिए।सामान्य अवस्थामा भर्ना भएका पटेललाई बिहान ११:३० बजेतिर डाक्टरहरूले मृत घोषणा गरेपछि आफन्तहरू आक्रोशित बनेका थिए।
डाक्टरहरूले उपचारमा लापरबाही गरेको भन्दै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकहरूमाथि हातपातको प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय बिर्ताले सामान्य बल प्रयोग गरेको थियो।
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–६ सिसही बहुवरी निवासी राजेश यादवको पनि उपचारका क्रममा शनिबार दिउँसो २ बजेतिर मृत्यु भएको छ।
यादवलाई मेडिकल वार्डबाट आईसीयू वार्डमा सार्ने क्रममा अक्सिजन नलगाएर डाक्टरहरूले लापरबाही गरेको भन्दै आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। स्थिति थप उग्र बनेपछि पर्सा प्रहरीले लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।
अन्ततः स्थानीय प्रशासन, अस्पताल प्रशासन, जनप्रतिनिधि र पीडित पक्षबीच पाँच बुँदे सहमति भएपछि अस्पतालको अवस्था सामान्य बनेको छ।
