चितवन राष्ट्रिय निकुञ्जले नवलपरासी पूर्वको गुन्द्रहा वनबाट १ वयस्क गैँडा पूर्वी क्षेत्र स्थानान्तरण गरेको छ ।गैँडा स्थानान्तरणकाे दोस्रो चरण अन्तर्गत शनिबार बेलुका १५ वर्षकाे पाेथी गैंडालाई लठ्याएर रडियाे कलर जडान गरी साैराह पूर्व लगिएको सूचना अधिकारी अविनाश थापा मगरले बताए ।
गैंडाकाे अनुवांशिक गुणमा सुधार तथा वासस्थान व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सम्भाव्यता अध्ययन अनुसार निकुञ्जले वन तथा वातावरण मन्त्रालय २०८० माघ २४ को सचिव स्तरीय निर्णयमा पश्चिमका १० गैँडा पूर्व स्थानान्तरण गर्ने कार्य तय गरेको थियो ।
उक्त निर्णय अन्तर्गत गत वर्षकाे चैत महिनामा कावासाेतीकाे नवदूर्गा सामुदायिक वन, निकुञ्जकाे पश्चिम सेक्टर दिव्यपुरी पाेष्ट तथा अन्य मध्यवर्ती सामुदायिक वनबाट गरी ६ गैँडा पहिलाे चरणमा पूर्व स्थानान्तरण भएका थिए ।
दोस्रो चरणमा स्थानान्तरण गरिने बाँकी ४ ओटा गैंडालाई निकुञ्जकाे पूर्वी क्षेत्र महेन्द्र मल्ली पाेष्ट स्थित प्यारीढाप आसपास छाड्ने निकुञ्जकाे मुख्य कार्यालय कसराले याेजना बनाएको छ ।
गैेंडाकाे बसाेबासका दृष्टिले पश्चिम सेक्टरमा बाक्लाे घनत्व रहेकाे र नारायणी नदीमा आउने बाढीले कतिपय गैंडालाई बगाई लैजाने भएकाले पनि यसकाे सुरक्षार्थ केही गैँडा पुर्वी क्षेत्र सारिन लागेकाे विभागका सूचना अधिकारी तथा वरिष्ठ ईकाेलाेजिष्ट हरिभद्र आचार्यले बताए ।
गैँडा स्थानान्तरणका लागि नेपाल सरकार, वन वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कडेल,उप महानिर्देशक वेद कुमार ढकाल निकुञ्जका वार्डेन डा. गणेश पन्त, नेपाली सेनाका अधिकारी लगायतकाे टाेली पश्चिम सेक्टर पुगेकाे हाे ।
गैँडा स्थानान्तरण गर्दा प्रजननका दृष्टिले बयस्क भाले पाेथीकाे अनुपात मिलाई ल्याउनका लागि पशु चिकित्सक, डार्ट प्राविधिक तथा हात्ती सहित निकुञ्जकाे टाेली कार्य क्षेत्रमा खटिएको बताइएको छ ।
पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जकाे पूर्व र पश्चिम क्षेत्रमा विचरण गर्ने गैंडाकाे संख्या ६ सय ९४ रहेकाे छ ।यसै सम्बन्धमा स्थानीय संरक्षण कर्मी तथा पर्यटन व्यवसायीहरूले वन्यजन्तुलाई स्थानान्तरण तथा कुनै हलचल नगराई प्राकृतिक अवस्थामै छाडिनु पर्ने बताउँदै आएका छन् ।