ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ ।
बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन चल्न सकेको छैनन् । धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेचि राजमार्ग तथा तमोर करीडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको मुकुम्लुङ संघर्ष समितिका सुनसरी संयोजक जेन्टल लावतीले जानकारी दिए ।
बन्दले यात्रु अलपत्र
ताप्लेजुङको मुक्कुमलुङमा केवलकार निर्माणको काम बन्द गर्नुपर्ने माग राखी गरिएको बन्दले यात्रु अलपत्र परेका छन् । आइतबारबाट मुक्कुमलुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिले ९ जिल्ला बन्द गरेसँगै धरान उप महानगरपालिकाबाट पूर्वी पहाडी जिल्लामा चल्ने सवारीसाधनको आवागमन ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।
उपचारका लागि धरान आएका भोजपुर निवासी प्रेम राई उपचारपश्चात आज घर फर्किन लाग्दा अलपत्र परेको बताउछन् । सीमित खर्चमा हिँडेको थिएँ, अब बन्दले अलपत्र परेको छु’ उनले बताए । उनिजस्तै घर हिँडेका भोजपुरका सविन राई पनि अन्योलमा रहेको बताउछन् ।
यसैगरी गौरीगञ्जबाट पाख्रिबास हिँडेका सुधिर कटुवाल पनि धरान आएर अलपत्र परेको कारण खाने बस्नेको समस्या भएको बताए । बन्द नै हल होइन, यसरी आम नागरिकलाई दुःख दिएर समस्याको हल हुँदैन, यसरी काम गरेर खानेलाई झन दुःख हुने भएकाले सम्बन्धित सबै निकायले आन्दोलनकारीसँग समन्वय गरी बन्द खुलाउनु पर्ने उनले बताए ।
यसैगरी धरानबाट तराईतिर जाने यात्रुहरू पनि अलपत्र परेका छन् । कामविशेषले धरान आएका गुड्डु जैसवाल पनि जोगवनी घर जाने क्रममा अल्झिएको बताउछन् । मुक्कुमलुङमा केबुलकार निर्माणको विरोध गर्दैआइरहेको मुक्कुमलुङ संरक्षण समितिले केहि दिनअघिबाट मेची राजमार्ग तथा तमोर काेरिडोर बन्द गर्दै आएको छ । समितिले माघ २० र २१ गते ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा गरी ९ जिल्लामा सवारीसाधन बन्द गरेको छ ।