पाथीभरा केवलकार विवादः चार राउण्ड ‘टियर ग्यास’ प्रहार, तीन सुरक्षाकर्मी घाइते

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले ४ राउण्ड टियर ग्यास प्रहार गरेका छन्। घटनामा तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घरेलु हतियारसहित समूहले केवलकार निर्माणको विरोध गर्दै आक्रामक गतिविधि गरेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि हस्तक्षेप गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सन्दीपा खड्काले घाइते हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक सोमदेव यादव, सहायक हवल्दार टीकाराम खवास र जवान सञ्जीव बस्नेत रहेको जानकारी दिइन्।

प्रजिअ शर्माले घरेलु हतियारसहित बलुडाँडा क्षेत्रमा भेला भएका समूहलाई नियन्त्रणमा लिने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको र त्यसै क्रममा टियर ग्यास प्रहार गर्नु परेको बताए।

स्थिति सामान्य, शान्ति सुरक्षामा प्रतिबद्धता

प्रजिअ शर्माका अनुसार हाल पाथीभरा क्षेत्रको अवस्था सामान्य रहेको छ। उनले विरोधमा उत्रिएको समूहका एक नेताले आफूविरुद्ध आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरेको  तर  यस्ता क्रियाकलापले आफूलाई विचलित नगराउने भन्दै शान्ति सुरक्षाका लागि आफू कटिबद्ध रहेको स्पष्ट पारे।

‘म सरकारको प्रतिनिधिका रूपमा शान्ति सुरक्षाका लागि खटिएको छु। यस्ता घटनालाई सुरक्षा चुनौतीको रूपमा मात्र लिन्छु र नीति नियमअनुसार सुरक्षालाई सुदृढ बनाउन प्रतिबद्ध छु,’ शर्माले भने।

जिल्ला प्रशासनले पाथीभरा क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न कुनै कमी नराख्ने र सुरक्षा व्यवस्थालाई अझ बलियो बनाउने दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *