ठुला बैकका ब्याजदर स्थिर

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मुलुकभर सञ्चालनमा रहेका १८ वटा ‘क’ वर्गका वाणिज्य बैंकहरूले माघ महिनाका लागि अघिल्लो महिनाकै ब्याजदर यथावत राखेका छन् । माघका लागि १८ वाणिज्य बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन् भने दुईवटा वाणिज्य बैंकले घटाएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबीआई बैंक र कृषि विकास बैंक रहेका छन् ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेपमा पनि ब्याजदर शून्य दशमलव ५ प्रतिशतले घटाएको छ । कृषि विकास बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको ब्याजदर यथावत नै राखेको छ । नेपाल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ५ दशमलव ६ प्रतिशत नै राखेर संस्थागतको ब्याजदर घटाएको छ ।

सिटिजन्स बैंकले भने व्यक्तिगत ब्याजदर बढाएको छ भने संस्थागतको ब्याजदर यथावत राखेको छ । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार सबैभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी र एनएमबी बैंक रहेका छन् । यी दुवै बैंकले समान ब्याजदर कायम गर्दै व्यक्तिगत मुद्दतीमा ६ दशमलव ६ प्रतिशत ब्याजदर कायम गरेका छन् भने संस्थागतको ब्याजदर ५ दशमलव ६ प्रतिशतमा सीमित गरेका छन् ।

सबैभन्दा कम ब्याज दिने बैंकका रूपमा भने नेपाल एसबीआई बैंक देखिएको छ । सो बैंकले व्यक्तिगत मुद्दतीमा साढे ५ प्रतिशत र संस्थागत मुद्दतीमा साढे ४ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकहरूको यो समायोजनसँगै बैंकहरूमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशत बिन्दुदेखि अधिकतम ३ दशमलव १० प्रतिशत ब्याज पाइने भएको छ । त्यस्तै, एक वर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइने देखिएको छ । एक वर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ३ देखि ४ दशमलव ३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । साधारण बचत खातामा एनआईसी एसिया बैंकले ३ दशमलव १० प्रतिशत ब्याज दिने देखिएको छ ।

२० बैंकहरूमध्ये १७ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन् । बाँकी तीन वाणिज्य बैंकहरूमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ ।

पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबीआई बैंक र कृषि विकास बैंक रहेका छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ ।दुई बैंकको ब्याजदर घटेपछि बैंकहरूको औसत ब्याजदर पनि सामान्य घटेको छ । पुस महिनाको तुलनामा माघ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकहरूको ब्याजदर शून्य दशमलव शून्य १५५ प्रतिशत बिन्दु घटेको छ । संस्थागतमा पनि शून्य दशमलव शून्य २७५ प्रतिशत घटेको छ ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिल बैंक ५ दशमलव ७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ६ दशमलव ५ प्रतिशत, माछापुच्छे बैंक ६ प्रतिशत, हिमालयन बैंक ६ दशमलव २५ प्रतिशत, एभरेस्ट बैंक ६ प्रतिशत, एनआईसी एसिया बैंक ६ दशमलव ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६ दशमलव २५ प्रतिशतको पुरानै ब्याजदर यथावत राखेका छन् ।

लक्ष्मी सनराइज बैंक ५ दशमलव ७५ प्रतिशत, कुमारी बैंक ५ दशमलव ९१ प्रतिशत, सिद्धार्थ बैंक ६ प्रतिशत, सानिमा बैंक ६ दशमलव शून्य ५ प्रतिशत, एनएमबी बैंक ६ दशमलव ६ प्रतिशत, प्रभु बैंक ६ दशमलव १ प्रतिशत, ग्लोबल आईएमई बैंक ५ दशमलव ७५ प्रतिशत, सिटिजन्स बैंक ५ दशमलव ६५ प्रतिशत, प्राइम कमर्सियल बैंक ६ दशमलव २५ प्रतिशत, नेपाल बैंक ५ दशमलव ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशतको पुरानै ब्याजदर यथावत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *