नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही दमन’विरुद्ध तल्लो तहसम्मै भण्डाफोर अभियान चलाउने जानकारी दिएका छन् । एमालेका लाखौँ कार्यकर्ता र हजारौँ नेताको योगदानबाट निर्मित ‘कम्युनिष्ट पार्टी’लाई सीमित व्यक्तिको सत्ता उन्मादले तहसनहस बनाएको उनको आरोप छ ।
अध्यक्ष ओलीको ‘निरंकुश रवैया’विरुद्धको अभियानलाई एमालेका निष्ठावान कार्यकर्ता र देशभक्त नेपाली जनताले साथ दिने नेता रावलको विश्वास छ । उनी निकट स्रोतकाअनुसार रावलले केही दिनयता देशभरबाट एमाले नेता–कार्यकर्ताहरूको राम्रो साथ पाइरहेका छन् । दर्जनौँ केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको समर्थन पाएपछि उनी उत्साहित छन् ।
पुस २१ र २२ गतेको केन्द्रीय कमिटी बैठक पर्खिरहेको रावल समूहले एमालेका नेता–कार्यकर्ताहरूको ‘कुरा सुन्न’ जिल्ला र प्रदेशमा छलफल गर्ने योजना बनाएको बुझिएको छ ।
‘राष्ट्रवादी नेता कमरेड भीम रावल विनाको एमाले हुनै सक्दैन ! यो पार्टीमा उहाँले रगत–पसिना बगाउनुभएको छ, उहाँलाई पार्टीबाट निकाल्न खोज्नु केपी ओलीको मुर्खता हो,’ रावलनिकट एक केन्द्रीय सदस्यले भने, ‘अहिले उहाँको साथमा एमालेका ६० प्रतिशत निष्ठावान नेता–कार्यकर्ताहरू छन्, तिनीहरूको विचारलाई दबाउन सक्छ नेतृत्वले ? पक्कै पनि सक्दैन !’
मीन बहादुर गुरुङबाट करोडौँ ‘जग्गा दान’ लिएपछि रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र लुम्बिनी प्रदेशका उपसचिव दुर्गा चौधरीले एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए । सोही विषयलाई तन्काउँदै महासचिव शंकर पोखरेलको प्रस्तावमा चारै जना नेतालाई ओलीको जोडबलमा कारबाही गरेपछि एमालेभित्र ‘रावल प्रकरण’ले उग्ररुप लिएको रावल पक्षको बुझाई छ ।
एमाले नेतृत्वको उक्त निर्णयको धेरै नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन् । उनीहरूले कारबाहीको निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । सोही सन्दर्भमा एमाले सचिवालयको कदमपछि नेता रावल थप आन्तरिक संवादमा जुटेको बताइन्छ ।
देश र जनताको हितमा आवाज उठाउँदा आफूमाथि अध्यक्ष ओलीले कारबाहीको डन्डा चलाएको उनको निश्कर्ष छ । ‘न्यायको विगुल फुक्दा, अनैतिक आचरण र भ्रष्टाचारको विरोध गर्दा हामीहरूलाई कारबाही गरियो। यसको भण्डाफोर गर्छौँ,’ नेता रावलले भने ।