फुर्के र खोयाहाँस नेपाल भ्रमणमा

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जलपन्छी फुर्केहाँस नेपाल भ्रमणमा आइपुगेको छ । हिउँदे याममा बसाइँ सरेर आउने फुर्केहाँस जस्तै आगन्तुक चरा यतिबेला नेपालका विभिन्न भूगोलमा रमाई रमाई यात्रा गरिरहेका छन् ।

छिमेकी मुलुक चीन र मङ्गोलियाबाट उच्च हिमाल नाघ्दै नेपाल आइपुगेको फुर्केहाँस हेरिरहुँ परेको लोभलाग्दो चरा हो । कपिलवस्तुको जगदीशपुर तालमा चार वटाको सङ्ख्यामा यो चरा देखिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

उनले भने, “कालोसेतो धर्सा भएको घाँटीमाथि हरियो चमकसहितको टाउको यताउता ढल्काउँदा फुर्केहाँसले हरकसैको मन हर्छ ।” सूर्यको किरण पर्दा यो चरा स्वर्गबाट झरेजस्तै जाज्वल्यमान देखिन्छ । पोथीको तुलनामा भाले अति सुन्दर देखिने यसको शरीरको अन्य रङ फुस्रो भए पनि पखेटा भने चाँदी झैँ टल्कन्छ । पखेटा फर्फराउँदा अझ मोहक देखिने  चराका पोथी जाति भने सेतो खैरो आकारको हुन्छ । जगदीशपुरबाहेक कोशीटप्पु क्षेत्रमा पनि फुर्केहाँस रमाउन पुग्छ । साना समूहमा आउन मन पराउने फुर्केहाँस हिउँदभरि नेपालमा रमाउने गर्छन् ।

सर्वोच्च शिखर सगरमाथाको चुचुरो नाघेर आउने खोयाहाँसको सुन्दरता पनि उस्तै मन छुने हुन्छ । ठुलो समूहमा कोशी र नारायणी नदी किनारमा हिउँद बिताउँदै गरेको खोयाहाँस बसाइँ सरेर आउने चरामध्ये निकै अग्लो चरा भएको वरिष्ठ चराविद् बरालले जानकारी दिए  ।

खोयाहाँस नेपाल आउँदा सन् १९७८ मा नौ हजार ३७३ मिटरको उचाइ नाघेर नेपाल आइपुगेको रेकर्ड छ । जुन सगरमाथाभन्दा निकै माथि हो । त्यसैले पनि यसलाई सगरमाथा नाघ्ने चरा भनिएको हो । सधैँ त्यो उचाइबाट उडेर चरा आउने होइन, हिमालको छेउकुना हुँदै अलिक तलबाटै हिमालको चिसो छोएर उड्न यो चराले मन पराउँछ ।” अति कम अक्सिजनमा पनि बाँच्न सक्ने भएकाले यसको जीवन लामो हुन्छ ।

नेपालमा नियमित विचरण गर्ने यसले आउँदा र जाँदा दुई पटक नै हिमालको बाटो रोज्छ । चीन र मङ्गोलियाका सफा पानीका तालहरूमा बस्छ । चीनको सिङ्घहाई लेकमा सबैभन्दा धेरै खोयाहाँस पाइन्छ । मानसरोवर तालमा पनि यसको बसोबास छ, जहाँ यसले बच्चा कोरल्छ ।

अत्यधिक जाडो छल्न नेपाल आउने खोयाहाँस नेपालमा मात्र बस्दैन । यहाँबाट भारतको गुजरात र राजस्थान, उत्तरप्रदेश र झारखण्डसम्म पुग्छ । नेपाल यसको उडानको पहिलो ‘ट्रान्जिट’ जस्तै हो । सात सयदेखि आठ सय वटाको ठुलो समूहमा आउने खोयाहाँस सबै भारत पुग्दैनन् । कतिपय नेपालमै बस्न रुचाउँछन् । वर्षायाममा आउने जस्तो बचेरा कोरल्दैन । बचेरा हुर्केर उड्न सक्ने भएपछि उडान भर्न सिकाउँदै नेपाल यात्रा गर्छ । बरालले भने, “बच्चालाई उड्न सिकाउन आएका बुढापाका चराहरू भने उमेरका कारण कहिलेकाहीँ यतै बस्छन् ।” बचेरा एक्लै फर्कंदा हिमाली चिलको आक्रमणमा पर्छन् । ३० वर्ष उमेर बाँच्ने खोयाहाँसले जन्मस्थानदेखि हरेक वर्ष पाँच हजार किलोमिटर दुरी पार गरेर भारत पुग्छ । यसले आफ्नो जीवनकालभरिको उडान यात्रामा एक लाख ५० हजार किलोमिटर उड्ने उनले जानकारी दिए  ।

सारसको ठुलो समूह पनि बसाइँ सरेर नेपाल आइसकेको छ । शुक्लाफाँटामा सारसको ठुलो झुन्ड भेटिएको छ जहाँ २७ भन्दा बढी सारस रहेका छन् । कपिलवस्तुको भारत सिमानाको तालमा १०४ वटा सारस देखिएका छन् । सुडसुडिया, मलबुजालगायतका सिमसारमा बस्ने चरा पनि नेपाल आइसकेका छन् । जङ्गल र घाँसेमैदानमा बस्ने चरा भने निकै कम नेपाल आइपुग्छन् । नेपाल पन्छीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल एसियन पानी चरा गणना राष्ट्रिय संयोजक हुन  । यसै महिना सुरु भएको पानीचरा गणनाको तथ्य सङ्कलन भइरहेको जानकारी उनले  दिए  । कुन चरा आयो, कुन आएन र किन आएन भन्ने विश्लेषण गणनामा गरिन्छ । खोयाहाँस, फुर्केहाँस, चखेवाका जोडी र बकुल्ला बढी देखिएका छन् । चखेवाका जोडीहरू नदी तथा तलाउमा रमेको भेटिएका छन् ।

उनका अनुसार नेपाल आउने अर्को सुन्दर चरा चखेवाका जोडी गत वर्ष फर्कन छुटेकाले यसपाला आएकासँग भेट गर्छन् । , “चखेवा जोडीको एउटा बिरामी भयो वा मर्‍यो भने अर्को स्वदेश फिर्दैन ।” जोडीमै बस्न मन पराउने भएकाले एउटा बिरामी भयो वा मर्‍यो भने अर्कोले शोक मनाएर यतै बस्छ । कतिपय एक्लोपनमा खानापिना बन्द गरेर केही दिनमा आफैँ मर्छन् पनि । सारसको जोडीमा पनि त्यस्तो देखिन्छ । जोडी नभएको खण्डमा मृत्युमा शोक मनाउँछ । शोकाउँदै गर्दा आफैँ पनि मर्छ । एउटा उड्न सकेन भने पनि जोडी नेपालमै बस्ने गरेको पाइएको छ । हरेक वर्ष हिउँदमा १५० प्रजातिका चरा नेपालमा आउने गरेका छन् । जसमध्ये आधाभन्दा बढी जलपन्छी रहने उनले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *