भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति निधन भएको हो।भारतीय सञ्चार माध्यमका अनुसार उनी घरमै बेहोस भएका थिए। सो पश्चात् राति ८:०६ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान लगिएको थियो।

अस्पतालले जारी गरेको बुलेटिन अनुसार उनलाई आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालमै राति ९:५१ बजे उनको निधन भएको हो।उनको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। साथै, आजका सबै कार्यक्रम रद्द गरिएको छ। डा. मनमोहन सिंहको अन्तिम संस्कार शनिबार  राजकीय सम्मानका साथ गरिने कांग्रेसले जनाएकाे छ।

कांग्रेस नेता राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन्। मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्दै राहुलले लेखेका छन्, ‘मैले मेरो मार्गदर्शक र गुरु गुमाएको छु।’ मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। यसअघि पनि उनी धेरै पटक अस्पताल भर्ना भएका थिए।

अखिल भारतीय आयुर्विज्ञान संस्थानको बाहिर सुरक्षा कडा पारिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा पनि अस्पताल पुगेका थिए। सञ्चार माध्यमको रिपोर्ट अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पनि अस्पताल पुग्ने सम्भावना छ। यसैबीच, कर्नाटकको बेलगावीमा चलिरहेको कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी) बैठक रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *