नेपाल पत्रकार महासंघमा मिलेर चुनाव लडेका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले सर्वोच्च अदालत बार एशोसियसनको निर्वाचनमा भने छुट्टा–छुट्टै गठबन्धन बनाएका छन् । सत्ता सहकार्यमा रहेका दुई दलबीच सर्वोच्च बारमा भने प्यानलबद्ध प्रतिस्पर्धा हुने भएको छ ।
आगामी पुस २० गते हुने निर्वाचनमा एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पिपिएलए र माओवादी सम्बद्ध आरपिएलएबीच मिलेर जाने सहमति छ । निर्वाचनमा नेपाली काँग्रेसको डिएलए र एकीकृत समाजवादीनिकट एसपिएलएसहित अन्य दल सम्बद्ध कानुन व्यवसायीको छुट्टै प्यानल बनेको छ ।
एमाले–माओवादी गठबन्धनबाट महेश थापा अध्यक्षमा अघि सारिएका छन् भने काँग्रेस–एस प्यानलले मेघराज पोखरेललाई उम्मेदवार बनाएको छ ।
सरकारमा सहकार्य गरिरहेका एमाले र काँग्रेसले यसअघि नर्सिङ संघमा पनि अलग–अलग प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । मंसिर २८ गते सम्पन्न संघको चुनावमा एमाले–माओवादी एकातिर थिए भने काँग्रेस–एकीकृत समाजवादीको अर्को गठबन्धन थियो ।