नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले राज्यसत्तामा उदेक लाग्दो अवस्था रहेको चित्रण गरे ।
काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट पोखे । ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास भइराखेको छ’, विप्लवले भने, ‘हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयंकर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’
अहिले कम्युनिस्ट आन्दोलनमा दुईवटा समस्या रहेको पनि विप्लवले औँल्याए । पहिलो वर्गीय मोर्चा छाडेर भाग्ने । अर्को विचार, सिद्धान्त बिग्रिन्छ भन्दै जड सूत्रीय प्रवृत्ति बन्द कोठाको कुनामा गएर सिद्धिने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ ।