भक्तपुर प्रकरण: आत्मसमर्पण गरेका मिलनले बाबु र भाइको हत्या गरेको स्वीकारे

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन्।

मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन्।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए।

मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए। कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुखसमेत थिए। उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए।

गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए। तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए।प्रहरी आएर हेर्दा बाबु र भाइको बेग्लाबेग्लै कोठामा शव फेला परेको थियो भने जेठा छोरा मिलन डेरामा थिएनन्। उनी शनिबार राति नै डेरा बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको थियो।

प्रहरीले जेठा छोरा मिलनको घटनामा संलग्नता हुन सक्ने भन्दै खोजी थालेको थियो। यसैक्रममा मिलन मंगलबार प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका हुन्।

प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोक सेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको बताएका छन्।‘मैले धेरै पटक लोक सेवा आयोगमा परीक्षा दिएँ तर ५-६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो।’

बाबु र भाइको हत्या गरेको स्वीकारेको बताउँदै प्रहरीसँग मिलनले आफूले पनि मर्ने प्रयास गरेको बताएका छन्। यसबारे प्रहरीले थप सोधपुछ गरिरहेको छ। उनका बाबु र भाइको शव डेराबाट त्रिवि शिक्षण अस्पताल लगेर राखिएको छ।

प्रेमिकासँगको झगडापछि बुबा र भाइको हत्या

भक्तपुरमा हिजो मृत भेटिएका बाबुछोराको हत्यारा मृतक कुलप्रसादका जेठो छोरोले प्रहरीमा आत्मसमर्पण गरेका छन् । हत्यापछि बेपत्ता जेठा छोरा मिलन आचार्य आज आफैं महाराजगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार उनले बुबा र भाईको हत्या गरेको स्वीकारेका छन् । शनिबार साँझ खाना खाएर बाबु कुलप्रसाद र जेठो छोरो मिलन एउटा कोठामा, कान्छो छोरो प्रवीण अर्को कोठामा सुतेका थिए । मिलनले सोही रात दुबैको हत्या गरेको र शव हिजो फेला परेको हो।

हत्यापछि मिलन अस्ति बिहान ३ बजे नै कोठामा बाहिरबाट ताल्चा लगाएर निस्किएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मिलन चढेको इनड्राइभ मोटरसाइकल कोटेश्वर हुँदै सातदोबाटोतिर गएको थियो । ‘सिसिटिभी फुटेजको आधारमा उसले प्रयोग गरेको मार्गहरु पत्ता लगायौं’, एसपी न्यौपानले भने, ‘हाम्रो अनुमान सही थियो, उनले किन हत्या गरे, सोधपुछ गर्दैछौं ।’

प्रहरीका अनुसार मिलनले आत्मसमर्पणपछि प्रेमिकासँग झगडा परेको र सोही तनाबमा विवेक गुमाएर हत्या गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *