थाई एयर एसियालाई प्रतिबन्ध

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले , “आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।” बताए ।

वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको बताउदै उनले  थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो । अनुमति नहुँदासमेत जहाजलाई नेपाल ल्याएको र नियामक निकायमाथिको अटेरीका कारण यसको जिएसए कारबाहीमा परेको  जानकारी दिए । प्राधिकरणका अनुसार आइतबार (कात्तिक ११) बाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौँ विमानस्थलमा उडान गरिरहेको थियो ।

यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौँमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो । उक्त सर्तको उल्लङ्घन गर्दै गर्मीयामको उडान तालिका अनुसार जहाज काठमाडौँ आएपछि कारबाही अघि बढाइएको हो । करिब एक घण्टा आकाशमै होल्ड गरिएको उक्त जहाजलाई अन्ततः विशेष  चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो ।

जहाजलाई धेरै समय होल्डिङ गर्दा यात्रु र हवाई सुरक्षामा पर्ने जोखिम र मानवीयताको विषयलाई हेरेर अवतरणको अनुमति दिइएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो । भुलले भने, “जहाज उडानका लागि समर र विन्टर सिजनको अनुमति लिनु पर्छ । समरको अनुमति शनिबार सकियो । आइतबारदेखि विन्टर सुरु भयो । विन्टरका लागि यो जहाजले उडान अनुमति लिएको थिएन तर एयर एसियाको नेपाल प्रतिनिधिले मिलाउँछु भनेका कारण जहाज नेपाल आएको देखिएकाले नियामक निकायले कारबाही अघि बढाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *