उरुग्वेले उपाधि रक्षा गर्न नमानेको दोस्रो विश्वकप

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पहिलो विश्वकप दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा सम्पन्न गरेपछि फिफाले दोस्रो विश्वकप युरोपमा आयोजना गर्ने निर्णय लियो । फिफाले दोस्रो संस्करणका लागि इटालीलाई चयन ग¥यो । यद्यपि इटालीले विश्वकपमा प्रवेश पाउन छनोट खेलहरू खेल्नुपर्ने अनिवार्य थियो । छनोट चरणमा इटालीसँगै ३२ टिम सहभागी भए । त्यसमध्ये १६ टिम विश्वकपमा चयन भएका थिए । पहिलो विश्वकपमा युरोपका धेरै टिमले सहभागिता नजनाएको विरोधमा विश्वकप विजेता उरुग्वेले युरोप जान मानेन ।

इटाली पहिलो विश्वकप नै आयोजना गर्न चाहन्थ्यो तर विश्वकपको आयोजना अधिकार उरुग्वले पाएपछि इटालीले भाग लिएको थिएन । उरुग्वेले पनि दोस्रो विश्वकपमा सोही चाल अपनायो । दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिल मात्र विश्वकपमा खेलेका थिए ।सन् १९३४ ताका युरोपको राजनीति निकै अस्थिर र तनावपूर्ण थियो । जर्मनीमा एडोल्फ हिटलरको निरङ्कुश नेतृत्व थियो ।

इटालीका तानाशाह बेनिटो मुसोलिनी पनि सन् १९३४ को विश्वकप फुटबल प्रतियोगिता आफ्नो भूमिमा आयोजना गरेर आफ्नो शासनकालमा अर्को गौरव थप्न चाहेका थिए । मुसोलिनीले चाहे जस्तै अन्ततः दोस्रो विश्वकप फुटबल प्रतियोगिता इटालीमा नै भयो ।  पहिलो पटक विश्वकपका खेल रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रतियोगितामा सहभागी १६ राष्ट्रमध्ये १२ राष्ट्रमा रेडियो प्रसारण फुटबल प्रेमीले सुन्न पाएका थिए ।

युरोपका १२, दक्षिण अमेरिकाका दुई, उत्तर अमेरिकाको एक, अफ्रिकाको इजिप्ट गरी कुल १६ टिमले दोस्रो विश्वकपको फाइनल चरणमा सहभागिता जनाए । यस पटक विश्वकप प्रतियोगिता सुरुदेखि नै नकआउटका रूपमा खेलाइएको थियो र लगातार दोस्रो पटक आयोजक राष्ट्रले विश्वकप उपाधि जित्यो । मुसोलिनीको कठोर निगरानीमा खेलिरहेको इटालीले फाइनल खेलको अतिरिक्त समयमा गोल गरेर चेकोस्लोभाकियालाई फाइनलमा २–१ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *