बाढीपहिरोका कारण देशभरका राजमार्ग प्रभावित हुँदा सडक यात्रा कष्टकर बनेको छ । २४ वटा राजमार्ग तथा अन्य सडक अवरुद्ध छन् । सडक विभागको शनिबार साँझसम्मको रेकर्ड अनुसार ४७ स्थानमा दुईतर्फी सवारी सञ्चालनमा छन् भने ५१ स्थानमा एकतर्फी सवारी चलेका छन् । दुई वटा राजमार्ग अवरुद्ध छन् ।
पूर्व–पश्चिम राजमार्गको नवलपुर विनयीखोला र तानसेन–रिडी–कोरला सडकको गुल्मी गरगरेमा अवरुद्ध छ । राजमार्ग छिनछिनमा बन्द हुने र खुल्नेक्रम चलिरहेको विभागले जनाएको छ । कतिपय राजमार्ग रातमा बन्द गरिएको छ । नौबिसे–मुग्लिङखण्डको परेवा भिरमा पहिरो खसिरहने भएकाले सावधानी अनपाउन आग्रह गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द गरिएको छ । साँझ ७ देखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने सडक विभागले जनाएको छ । दुम्कीबासखण्डमा दुर्घटना जोखिम बढेकाले सडक बन्द गरिएको विभागले जनाएको छ । ठुला तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न र साना सवारीसाधनलाई दिउँसो मात्र यात्रा गर्न भनिएको विभागका उपनिर्देशक एवं प्रवक्ता प्रतापकुमार झाले जानकारी दिए ।
बिपी राजमार्गमा राति यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । अरनिको राजमार्ग, कालीगण्डकी कोरिडोर, कान्ति राजपथ बन्द हुने र खुला हुनेक्रम चलिरहेको प्रवक्ता झाले बताए । मुख्यतः पहिरोका कारण सडक अवरुद्ध भएको उनको भनाइ छ । बर्सातले मात्र नभई सुक्खा पहिरोले पनि राजमार्ग अवरुद्ध हुन पुगेका छन् ।
त्यस्तै पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा आइतबार राति १०:३० देखि बिहान ३ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । निर्माणाधीन गलौदीखोला पुलमा ठुलो क्रेन प्रयोग गरी आरसिसी बिम राख्न लागिएको हुँदा ९ गतेसम्म सो समयमा सवारी रोक लगाइएको हो । उक्त समयमा अत्यावश्यक सवारीबाहेकका यातायात सञ्चालनमा रोकिएको सडक विभागले जनाएको छ ।
दाउन्नेखण्डमा गिट्टी, बालुवा पेलिँदै
बुटवल सडकको दाउन्नेखण्डले निकै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी, बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिएको छ । सडक विभागका आयोजना निर्देशक चूडाराज ढकाल,सडक आयोजना पूर्वीखण्डका प्रमुख अनुजाघिमिरे,पश्चिमखण्डका प्रमुख शशाङ्कमिश्र,चिनियाँ ठेकेदार कम्पनीलगायतले दाउन्नेखण्डको अनुगमन गरेपछि यस्तो प्रयास गरिने भएको हो ।
तत्कालका लागि दुम्कीबासदेखि खुर्सानीखोलासम्ममा कम्तीमा पाँच सय ट्रक गिट्टी, बालुवा हालेर बर्खाभरिलाई यात्रा सहज बनाउन निर्देशन दिएको पूर्वीखण्डका प्रमुख घिमिरेले जानकारी दिए ।
खाल्टाखुल्टी भएको र चिप्लिने ठाउँमा पाँच सय ट्रक अर्थात् पाँच हजार घनमिटर गिट्टी, बालुवा हालेर रोलरले पेलेर दुई दिनभित्रमा यो काम सम्पन्न गर्न निर्देशन दिएबमोजिम शुक्रबार यो कार्य थालिएको मिश्रले बताए । अनुगमनमा गएको टोली नै लामो समय जाममा फसेको थियो ।
अनुगमनपछि पत्रकारसँग कुरागर्दै निर्देशक ढकालले दाउन्नेकोयात्रा निकै असहज भएकाले अत्यावश्यक काम नपरी यो मार्ग भएर यात्रा नगर्न सबैसित आग्रह गरे । बिहीबार राति विनयीखोलाको बाढीले डाइभर्सन र यात्रुवाहक बससमेत बगाएपछि अर्को सूचना नहुन्जेलसम्मका लागि दुम्कीबास–दाउन्नेखण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्मका लागि आवागमनमा रोक लगाइएको छ । दिउँसो साना सवारीसाधन मात्र चल्न अनुमति दिइएको छ ।
निर्देशक ढकालले दसैँ अघिसम्म नारायणघाटदेखि बुटवलसम्मको ११४ किलोमिटर बाटो कालोपत्रे भएर सकिने दाबी गरे । “वर्षा सकिएको एक/ढेड महिनामा ढलान, कालोपत्रे सबै काम सकिन्छ,
दसैँ, तिहारमा कसैले पनि यो बाटो असहज भयो भनेर गुनासो गर्नुपर्ने अवस्था आउँदैन,” निर्देशक ढकालले भने । वर्षा सुरु भइसकेकाले अब मर्मतबाहेक अन्य काम सम्भव नभएको उनको भनाइ छ । “पहिले कच्ची बाटो हुँदा गाडीहरू आउनै समय लाग्थ्यो, अहिले बुटवलबाट र नारायणघाटबाट एक सय प्रतिकिमीको गतिमा गाडीहरू आउँछन् र सबै दाउन्नेमै रोकिने भएकाले जाम बढी भयो, व्यवस्थापनमा पनि कठिनाइ भयो,” निर्देशक ढकालले भने , “असहजताकै बिच पनि हामीले चिनियाँ ठेकेदार कम्पनीलाई काम गराइरहेका छौँ, यात्रुले पाएको दुःख अब केही दिनमा हट्छ ।”
सडक आयोजना पश्चिमखण्डका प्रमुख मिश्रका अनुसार अझै १० दिनसम्म बाटो सहज हुने छैन । “केही दिन समस्या हुन सक्छ तर अबको १० दिनपछि दाउन्नेमा समस्या भयो भनेर कसैले पनि गुनासो गर्नु पर्दैन,” मिश्रले भन्नुभयो । निर्माणलाई घटाएर मर्मतको कामलाई बढी महŒव दिने आयोजनाले जनाएको छ ।
दाउन्नेको १४ किलोमिटरमध्ये दुई सय मिटरले मात्र समस्या थपेको निर्देशक ढकालले बताए । दुम्कीबासस्थित विनयीखोलाको पुल असार १६ गतेदेखि सञ्चालनमा आउने र बाँकी पुल वर्षापछि मात्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।
चिप्लो बाटोका कारण बढी भार बोकेका ट्रक फस्दा जामले थप समस्या निम्त्याएको भन्दै सडक विभागले दुम्कीबासमा जुनसुकै समयमा पनि तयारी अवस्थामा रहने गरी एउटा लोडर राखेको पश्चिमखण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए । लोडरले फसेका गाडीलाई तानेर उद्धार गर्ने छ ।
म्याद सकिएपछि काम सकिने
अन्तिम पटक भन्दै तेस्रो पटक थपिएको चिनियाँ ठेकेदार कम्पनीको म्याद आगामी साउन ८ गते सकिँदै छ । यो अवधिसम्ममा ११४ किलोमिटर सडक कालोपत्रे गरिसक्नुपर्ने सर्त सरकारले अघि सारेको थियो तर अहिले सरकारले नै काम नसकिँदै मौखिक रूपमा म्याद थपिसकेको छ ।
“एकतर्फी कालोपत्रे सक्नु पर्छ भनेर सर्त हामीले नै राखेका हौँ तर ठेकेदार कम्पनीले दाउन्नेमा सक्दैनौँ भनेको थियो,” सडक विभागका आयोजना निर्देशक ढकालले भने , “उनिहरूको कुरा पनि नाजायज होइन, भौगोलिक हिसाबले पनि दाउन्नेमा काम गर्न सजिलो छैन ।” उनले अब फेरि एक वर्ष म्याद थपेमा दुईतर्फी नै कालोपत्रे सक्नेमा आशावादी रहेको बताए ।
