साहित्यकार गणेश रसिकको निधन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए । उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

भोजपुर छिनामाखुमा वि‍‍. सं. २००४ असोज ४ मा जन्मनुभएका रसिक पचासको दशकमा इलाम सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका थिए ।

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीत, आकाश गङ्गाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ। हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो  टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका  उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *