हेर्दा टोपी खस्ने गरी चारैतिर देखिने सेताम्मे हिमाल, बाह्रैमास हिउँले ढपक्क ढाकिएका अग्ला पहाडहरूलाई पछाडि पार्दै हिउँ बोकेर रफ्तारमा सागर छुन कुदेकी काली, दायाँबायाँ हिमाली मौलिकता, संस्कृति र रहनसहनमा रमाइरहेका मुस्ताङवासी !
हिमाल पारिको जिल्ला मुस्ताङ नपुग्ने हरेकका लागि काल्पनिक लाग्ने यी दृश्य १० वर्षअघिको यथार्थ चित्रण हो । फेदीसम्म हिउँ बग्ने ती हिमाल आजभोलि कालापत्थरमा रूपान्तरण भएपछि काली पनि स्वरूप परिवर्तन गरी उदण्ड र उजाड बनेकाे छ ! संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदीका रूपमासमेत परिचित कालीगण्डकी आजभोलि भने आफ्नै परिचय बिर्सेर मानव बस्ती तथा खेतबारीतर्फ फैलिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावको सन्देश विश्वलाई दिइरहेकाे छ ।
एक वर्षअघि बारागुङ मुक्तिक्षेत्र–४, कागबेनी बजारस्थित कागखोलामा आएको गेग्य्रानसहितको लेदोले तटीय क्षेत्रमा ठुलो क्षति पुग्यो । मुक्तिनाथबाट बग्ने कागखोला थुनिएर फुट्दा आएको बाढीले कागबेनीदेखि जोमसोमसम्मको मानव बस्ती तथा खेतीयोग्य जमिनमा बिनास मच्चायो ।
बाढीका कारण मानवीय क्षति हुन नपाए पनि कागबेनीका ३१ वटा घर र होटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, दुई वटा गाडी र तीन वटा विद्युतीय पोल पूर्ण रूपमा क्षतिग्रस्त बने । कालीगण्डकीको तटीय क्षेत्र उजाड भूमिमा परिणत भयो, जुन दृश्य मुस्ताङवासीले कहिल्यै देखेका थिएनन् । कालीगण्डकी नदी संरक्षणमा लामो समयदेखि काम गरेका स्थानीय कृष्ण थकालीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने र काली गण्डकी फैलिने क्रम तीव्र हुँदा मुस्ताङका धेरै मानव बस्ती नै खतरमा परेको बताउछन् ।
विगतको अनुभव सुनाउँदै थकली भन्छन , “१० वर्षअघिसम्म चारैतिरका हिमाल सेताम्मे हुन्थे, कालीगण्डकीको बहाव पनि निकै साँगुरो थियो । बर्सातमा आउने सामान्य बाढी छेक्न काठको बार लगाइन्थ्यो तर अहिले तारजाली र आरसिसी ढलानले पनि थाम्न सकिरहेको छैन ।’’
उनले प्रकृतिसँग जुध्न नसकिए पनि मानव सिर्जित प्रदूषण मात्र कम गर्न सके जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने भएकाले सबै सजग हुनुपर्ने बताए । मुस्ताङमा हिउँदमा प्रशस्त हिउँ पर्ने र वर्षामा कहिलेकाहीँ सानो सिमसिम पानी पर्ने गरेकोमा पछिल्लो समय हिउँ पर्न छाडेर भीषण वर्षा हुने गरेको थकाली बताउछन् ।
स्थानीय होटल व्यवासायी रमिला गौचन जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङले भोगिरहेको बताउँदै पर्यावरण संरक्षणमा ध्यान दिन नसके समस्या अझ बढ्न गई मुस्ताङको मौलिकता नै खतरामा पर्ने हो कि भन्ने चिन्तामा छिन् । उनि भन्छिन “मुस्ताङमा पर्यटक भरिभराउ हुँदा हरेक व्यवसाय फस्टाउँदो व्रmममा छ तर पर्यटकको सङ्ख्या वृद्धि हुँदै गर्दा सवारीको चाप र बढ्दो प्लास्टिकको प्रयोगले पर्यावरणमा पर्ने असरबारे त्यति ध्यान पुग्न सकेको छैन ।”
स्थानीय पुथान बहुमुखी सहकारी संस्थालगायत निजी क्षेत्रमार्फत प्लास्टिकजन्य प्रयोग निरुत्साहित गर्न विभिन्न प्रयास भए पनि पर्याप्त नभएको पनि उनि सुनाउछिन् । जलवायु परिवर्तनको असरसँगै मुस्ताङको मौलिक स्याउ खेती पनि जोखिममा पर्दै गएको छ । लेतेदेखि कागबेनीसम्म लटरम्म फल्ने स्याउ तापक्रम वृद्धिसँगै कम हुँदै गएको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर कम गर्न सरकारी पक्षबाट प्रयासहरू नभएका पनि होइनन् तर तीव्र रूपमा पग्लिरहेका हिमाल, बढ्दै गइरहेका हिमताल जुनसुकै बेला फुट्न गई ठुलो विपत्ति निम्तिने अवस्था सिर्जना भइरहेकाले सरकारी एकल प्रयास मात्र पर्याप्त हुन सकिरहेको छैन ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख विष्णुप्रसाद भुसालले जलवायु परिवर्तनका कारण मुस्ताङमा परेको असर संवेदनशील रहेको बताउदै यसबारे स्थानीय निकाय, राजनीतिक दल, सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायबिच निरन्तर सम्पर्क र समन्वय गरी जनचेतानसँगै रोकथामका प्रयास भइरहेको जानकारि गराए ।
भूसाल भन्छन, “जलवायु परिवर्तनका कारण कालीगण्डकीको तटीय क्षेत्र बस्ती र खेतीतर्फ तीव्र रूपमा विस्तार भइरहेको छ । प्रभावित बस्तीहरू सुरक्षित स्थानमा सार्नुको विकल्प छैन ।” उनले सम्भावित विपत्को मध्यनजर गरी पूर्वसूचना प्रणाली स्थापना गर्ने, तापक्रम वृद्धिका कारण तल्लो भेगमा रहेका स्याउ खेती माथिल्लो स्थानतर्फ सार्ने काम भइरहेको पनि जानकारि गराए ।
तिब्बतमा उत्पत्ति भई मुस्ताङ हुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी कागबेनी आइपुगेपछि मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला मिश्रण भई कालीगण्डकी भई बग्ने गरेको छ ।
