नेपाली कांग्रेस संसदीय दलको बैठकमा चरम असन्तुष्टि देखिएकाे छ । संघीय संसद् भवनको ल्होत्से हलमा बसेको सरकारले ल्याउन लागेको आगामी वर्षको बजेट र पछिल्ला राजनीतिक घटना क्रमबारे छलफलका लागि आह्वान गरेको बैठकमा भावुक र तनावपूर्ण रूपमा चलेको एक जना सांसदले जानकारी दिए।
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टीका तर्फबाट संरक्षण नभएकोसम्मका गुनासा पोखेका थिए ।
बैठकमा सरिता प्रसाईँ, शंकर भण्डारी, माया राई, मञ्जु खाण, हृदयराम थानी र कान्छाराम तामाङलगायतका सांसदले सरकारप्रति आक्रोश पोख्दै भावुक धारणा राखेको एक सांसदले बताए। उनीहरूमध्ये केही सांसद बैठकमै धरधरी रोएका थिए ।
‘उनिहरू रोइरहँदा बैठक नै स्तब्ध अवस्थामा रहेकाे थियाे । उनिहरूको पीडा र आक्रोशले पूरा कक्ष स्तब्ध भएपछि थुप्रै सांसदहरू बोल्नै सक्ने स्थितिमा छैनन्,’ ती सांसदले भने। बैठकमा सांसदहरूले प्रधानमन्त्री ओलीप्रति पनि तीव्र अविश्वास प्रकट गरेका थिए । ओलीले कांग्रेस भित्रका सांसदहरूलाई गुपचुप चलाइरहेको पनि आरोप उनिहरू ले लगाए ।
यस्तै सांसद शंकर भण्डारीले प्रधानमन्त्री ओलीले विभिन्न भाषणमा समय तोकेरै सभापति देउवालाई कुर्सी सुम्पने अभिव्यक्ति दिएकामा निन्दा गरे। ‘प्रधानमन्त्री ओली १५ महिनापछि, १४ महिनापछि देउवालाई प्रधानमन्त्रीको कुर्सी सुम्पिन्छु भनेर अभिव्यक्ति दिइरहेका छन्,’ उनले भने, ‘कांग्रेसले कुर्सी देऊ भनेर अनुनय गरेर मागेको हो र? त्यो त सहमति र सम्मानको कुरा हो।’ प्रधानमन्त्री ओलीको त्यो भनाइमा कतै असंवैधानिक, भ्रमपूर्ण र रणनीतिक चलखेल पनि हुनसक्ने उनले बताए।
सांसद राजेन्द्र बजगाईँले बैठकमा कांग्रेसका शत्रुहरू बाहिर होइनन् पार्टीभित्रै जिल्ला देखि केन्द्रसम्म रहेको बताए। ‘पार्टीभित्रका साथीहरूलाई नै समाप्त पार्ने प्रयास भइरहेको छ। यसले पार्टी एकता खुम्चिँदै गएकोले गम्भीर आत्म समीक्षा गर्न आवश्यक छ,’ उनले भने।
बजगाईँले बुढी गण्डकी जलविद्युत् परियोजनाजस्ता ठुला राष्ट्रिय योजनामा कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले भने, ‘यो केवल परियोजना होइन। यो राष्ट्रिय सम्भावना हो। नागरिक सहभागितामा निर्माण गरिनुपर्छ, हरेक नेपालीले शेयर पाउनुपर्छ।’
यस्तै बैठकमा बोल्ने अधिकांश सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नआए आगामी बजेट अस्वीकार गर्ने चेतावनी दिए। नत्र सरकार ढाल्न पनि पछि नपर्नेसम्मका कुरा उठेको एक सांसदले बताए। बैठकमै केही सांसदले कांग्रेसभित्रको गहिरो असन्तोष, नेतृत्वमाथिको अविश्वासले पार्टी विभाजनको खतरा रहेको पनि बताए ।
