नेपाली र अङ्ग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उनि मिर्गौला रोगबाट पीडित थिए ।
विसं २००० साल असोज १ गते तेह्रथुममा जन्मीएका गौतम ग्रामर गुरुका रूपमा परिचित थिए । नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रोनाउन्सेसन, राम्रो अङ्गे्रजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक निकै चर्चित छन् ।
उनको निधनले नेपाली र अङ्ग्रेजी भाषा, साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उनका भान्जा रमेश भट्टराईले बताए । गोरखापत्र संस्थानका पूर्वअध्यक्षसमेत रहेका भट्टराईले नेपाली र अङ्ग्रेजी भाषाको व्याकरणको सिर्जना र विकासमा निरन्तर लागेका गौतमको योगदान उल्लेखनीय रहेको भट्टराईले बताए । गौतमका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।
