सरकारले लागू गरेको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १ हजार ८६० वटा सरुवा निवेदन दर्ता भएका छन्। तीमध्ये १७३ जना कर्मचारीको सरुवा सम्पन्न भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अनलाइन प्रणालीमा प्राप्त निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ। कर्मचारी प्रशासन महाशाखाका प्रमुख तथा सहसचिव धोलकराज ढकालले हाल रिक्त रहेका दरबन्दीमा सरुवालाई प्राथमिकता दिइएको जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले डिजिटल, पारदर्शी र सुरक्षित सरुवा प्रणाली कार्यान्वयनमा ल्याइएको बताउँदै कर्मचारीहरूलाई अनलाइनमार्फत नै सरुवा निवेदन दिन आग्रह गरे उनले घरबाटै आवेदन दिन र निवेदनको अवस्था अनलाइनमार्फत हेर्न सकिने भएकाले मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको बताए।
मन्त्रालयले गत असार १६ गतेदेखि अनलाइन प्रणालीमार्फत सरुवा आवेदन लिन सूचना जारी गरेको थियो। निजामती कर्मचारीले आफ्नो कर्मचारी सङ्केत नम्बर प्रयोग गरी व्यक्तिगत खाता खोलेर आफू जान इच्छुक कार्यालयका लागि अनलाइनबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार नियमित सरुवाको अवधि भदौ १ देखि ३० गतेसम्म रहेकाले हाल विशेष आवश्यकता भएका कर्मचारीको मात्रै सरुवा गरिएको हो। भदौ महिनामा सेवा अवधि पूरा गरेका कर्मचारीलाई नियमित सरुवा तालिकाअनुसार व्यवस्थापन गरिनेछ।
सहसचिव ढकालले विगतमा सरुवा माग गर्न दुर्गम क्षेत्रबाट मन्त्रालयसम्म आउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सबै प्रक्रिया अनलाइनबाट हुने भएकाले अफलाइन वा हातले बुझाइने निवेदन दर्ता नहुने स्पष्ट पारे । यसबाट सरुवा प्रक्रिया थप व्यवस्थित, पारदर्शी र अनियमिततारहित बन्ने उहाँको विश्वास छ।
उनका अनुसार नयाँ प्रणाली राष्ट्रिय किताब खानासँग जोडिएकाले सरुवा स्वीकृत हुनेबित्तिकै कर्मचारीको विवरण स्वतः अद्यावधिक हुन्छ। यसअघि कागजी प्रक्रियाका कारण बढुवा, सरुवा, अवकाश, राजीनामा वा मृत्युजस्ता विवरण अभिलेखमा समयमै अद्यावधिक हुन नसक्ने समस्या अब क्रमशः समाधान हुँदै जाने उहाँले बताए ।
मन्त्रालयले कर्मचारीलाई घरबाटै सरुवा निवेदन दर्ता गर्ने, निवेदनको अवस्थाबारे अनलाइन जानकारी प्राप्त गर्ने, आवश्यक कागजात व्यवस्थापन गर्ने तथा स्वचालित सूचना प्राप्त गर्ने सुविधा उपलब्ध गराइएको जनाएको छ।
