याे साता देशभर नै मनसुनी वायूको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा आसपास नै रहने छ भने साताको अन्त्यमा नेपालको पश्चिमी भू-भागमा सरदर स्थान भन्दा उत्तरतिर सर्ने छ।
हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
पहाडी भू-भागमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्यमा धेरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
तराई भू-भागमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको विभागले जनाएको छ।
