बुटवल–नारायणगढ सडक विस्तारको म्याद फेरि एक वर्ष थप

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बुटवल–नारायणगढ सडक विस्तारको म्याद चौथो पटक फेरि एक वर्ष थपिएको छ । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थपिएको छ । नारायणगढ–बुटवल सडकखण्डलाई दाउउन्नेदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रलाई पूर्वी खण्ड र दाउन्नेदेखि पश्चिम बुटवलसम्मको सडक क्षेत्रलाई पश्चिम खण्ड भनिन्छ ।

२०७५ चैतबाट काम थालेको चिनियाँ ठेकेदार कम्पनीले तोकेको समयमा काम नसकेका कारण म्याद थपिएको हो । चिनियाँ ठेकेदारले पहिलो तीन वर्षमै राजमार्ग विस्तारको काम सक्नुपर्ने थियो । पहिलो, दोस्रो र तेस्रो पटक एक एक वर्ष म्याद थप्दासमेत राजमार्ग विस्तारको काम नसकिएका कारण फेरि चौथो पटक एक वर्षका लागि थपिएको हो ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुवै खण्डको १ सय १४ किलोमिटर राजमार्ग विस्तार गर्न १७ अर्बमा ठेक्का लिएको हो । चौथो पटक म्याद थपिए पनि सडक निर्माणको लागत रकम भने नबढ्ने सडक विस्तार आयोजनाका निर्देशक चूडाराज ढकालले जनाए । चिनियाँ ठेकेदार कम्पनी र कन्सल्ट्यान्टले २०८३ माघसम्मको समय मागेका थिए । आयोजना कार्यालयले २०८३ साउनभित्र काम सक्ने सर्तमा एक वर्ष म्याद थपेको ढकालले जनाए । एसियाली विकास बैंकको ऋण सहयोगमा बुटवल–नारायणगढ सडक विस्तार जारी छ ।

गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । दाउन्नेदेखि पश्चिम बुटवलसम्मको लागत ७ अर्ब ८६ करोड ३४ लाख छ । १ सय १४ किलोमिटर सडकमध्ये २९ किलोमिटर क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । बुटवल–नारायणगढ क्षेत्रमा पर्ने ७० किलोमिटर सडक बजार क्षेत्रमा ६ लेनको निर्माण हुनेछ । दाउन्नेको करिब १४ किलोमिटर क्षेत्रमा तीन लेन बनाउने गरी सडक स्तरोन्नतिको काम भइरहेको हो ।

दाउन्नेको सडक १३ मिटर फराकिलो हुनेछ । सामान्य पानी परेका बेला पनि हिलोले सास्ती भइरहेको दाउन्नेमा आउँदो दसैंमा समेत सुधार हुने छाँटकाँट छैन । २०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम गत असारसम्म ७० प्रतिशत मात्र भएको सडक विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *