वर्षा सुरु भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरवासी सहरी बाढीबाट प्रताडित हुने गरेका छन् । वर्षायाममा परेको पानीको निकास नहुँदा सहरी क्षेत्र नै डुबानमा पर्ने गरेको हो । विज्ञका अनुसार बागमती नदी र अन्य सहायक खोलाको बहाब क्षेत्र मिचेर संरचना निर्माण भएपछि एक दशकभन्दा बढी समयदेखि आसपासका बस्ती डुबानमा पर्ने गरेका हुन् ।
बागमती नदीसहित अन्य सहायक खोला किनारका बस्तीका नागरिकलाई सरकारले स्थानान्तरण गरिसकेको छ तर विभिन्न स्थानमा नदी, खोलामाथि अतिक्रमण कायम रहँदा वर्षायाममा पानी परेपछि सिधै खोलामा मिसिँदा ‘सहरी बाढी’ ले वितण्डा मच्चाउने गरेको हो । दुई दशकअघिसम्म काठमाडौँ उपत्यकामा खेतीले सोस्ने पानी अहिले सिधैँ खोलामा पुग्छ । सडक जलमग्न हुन्छन् ।
आइतबार र सोमबार भारी वर्षाका कारण नदी, खोलाआसपासका क्षेत्र जलमग्न भए । काठमाडौँका नदी किनार मात्रै होइन, माइतीघर मण्डलासहित विभिन्न क्षेत्र डुबानमा परे । बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, गोदावरीसहित सबै खोला किनारआसपासका बस्ती जलमग्न भए तर यो समस्या अहिल्यै सृजित होइन । विज्ञका अनुसार तीन दशकयता भूमाफियाको अतिक्रमणमा खोला किनार पर्नु र अव्यवस्थित बस्ती विस्तार नै सहरी बाढी र डुबानका मुख्य कारण हुन् ।
पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीका अनुसार खेती हुने जग्गा मासेर अव्यवस्थित रूपमा घर निर्माण भएपछि बाढीको जोखिम सुरु भएको हो । उनले परेको पानीमध्ये कति प्रतिशत बग्यो र कति जमिनमा सोसिएर भूमिगत पानीको स्रोतसँग मिल्यो भन्ने विषय महìवपूर्ण हुने बताए । उनले भने “खोलै छोपेर भौतिक संरचना निर्माण गरिएको छ । उदाहरणका लागि च्यासलस्थित भवन र नजिकैको पुल हेरे पुग्छ । बागमती नदीका धेरै स्थानलाई दुईतर्फ पर्खाल बनाएर छेकिएको छ । सुधारका काम धेरै गर्नुपर्ने छ ।”
चोभारमा थुप्रियो ढुङ्गा
काठमाडौँ उपत्यकाका खोला नदीको निकास चोभारको गल्छीमा २०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढी आउँदा ललितपुरतर्फबाट चट्टान, रोडा, बालुवा थुप्रिएको छ । त्यसपछि पनि बाढी र वर्षा हुँदा चोभारको गल्छीको माथिल्लो भागमा ढुङ्गा र गेग्य्रान थुप्रिने गरेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतका अनुसार विगतमा बाढीमा खसेका ढुङ्गा र गेग्य्रानको सफाइ हुने गरेको थियो । उनले ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकालाई गेग्य्रान हटाउन स्रोतको सहयोग गरिने प्रस्ट पारे ।
२०८१ असोजको भीषण बाढीपछि स्थानीय तह अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले पनि अनुगमन गरेर चोभारको गल्छीमा बालुवा, ढुङ्गा र गिट्टी थुप्रिएकाले सफाइ गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले २०८१ सालको बाढीमा थुप्रिएको गेग्नान हटाउन समस्या नभएको बताइन । उनले चोभार गल्छी नै विस्तार गर्ने कुरा विगतमा उठेपछि विरोध गरे पनि बाढीले थुपारेका ढुङ्गा र गेग्नान हटाउन समस्या नहुने बताइन । उनले भनिन् “स्थलगत अध्ययन गर्छौं । ललितपुर महानगरसँग पनि समन्वय गरेर आवश्यक निर्णय लिन्छौँ ।”
