नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति वैध रहेको ठहर गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षले प्राप्त गरेको थियो।
उक्त फैसला कानुन तथा तथ्यगत आधारमा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरिएको देउवा पक्षका एक नेताले जानकारी दिएका छन्।
देउवा पक्षले अदालतको अघिल्लो निर्णयमा कानुनी तथा तथ्यगत त्रुटि रहेको जिकिर गर्दै पुनः न्यायिक परीक्षणको माग गरेको जनाएको छ।
सर्वोच्च अदालतले अब पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी पुनरावलोकनका लागि निस्सा दिने वा नदिने विषयमा निर्णय गर्नेछ। निस्सा प्रदान भएमा मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइका लागि जानेछ।
