नेपालका सबै राष्ट्रिय निकुञ्जमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरुवात काठमाडौँस्थित शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको कृषि,वन तथा पर्यावरण मन्त्रालयले जनाएकोछ।
सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको हो ।
शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्जसहित नेपालका १३ वटा राष्ट्रिय निकुञ्ज, दुई आरक्षण र छ वटा संरक्षण क्षेत्रमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउन विद्युतीय टिकटको व्यवस्थापनमा लैजाने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीका अनुसार आगामी छ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा विद्युतीय टिकट सेवा प्रणाली लागु भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने छ ।
शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान प्रवेशद्वारमा शनिबारदेखि अनलाइन प्रविष्टिमार्फत विद्युतीय टिकट वितरण सुरु भएको जानकारी वरिष्ठ प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले दिए । उनले भने “पहिले हातैले लेखेर टिकट दिइन्थ्यो, अब अनलाइन प्रविष्टिसँगै घरबाटै टिकट काटेर घुम्न आउन सकिने गरी विद्युतीय टिकट वितरण सुरु गरेका छौँ ।”
अर्को सातादेखि निकुञ्जका १२ वटा काउन्टरमार्फत विद्युतीय टिकट प्रणाली लागु गरिने तयारी रहेको उनले बताए । काठमाडौँ उपत्यकामा आन्तरिक र बाह्य पर्यटनसँगै हाइकिङ पर्यटनका लागि प्रसिद्ध रहेको यस निकुञ्जमा प्रमुख हाइकिङ रुटमा पानीमुहान, नागार्जुन, ढकालचौर, सुन्दरीजल, ककनीलगायतका अनेकन रुट रहेका छन् । यिनै प्रमुख रुटमा बिदाका दिनमा दैनिक तीन हजार पाँच सयसम्म पर्यटक प्रकृतिमा रमाउन पुग्ने गरेका छन् । शनिबारको दिन सबैभन्दा बढी पर्यटक घुम्न जाने गरेका छन् ।
काठमाडौँ उपत्यकाको ठिक उत्तरमा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज जैविक विविधता र मनमोहक प्राकृतिक दृश्यका लागि परिचित एक शान्त प्राकृतिक क्षेत्र मानिन्छ । सन् २००२ मा स्थापना गरिएको यो निकुञ्ज १५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ हिमाली कालो भालु, चितुवासहित तीन सयभन्दा बढी प्रजातिका चरालगायतका प्राणीको बास रहेको छ । मुख्यतया सल्ला, ओक र लालीगुराँसले भरिएको शिवपुरी चुचुरोबाट उच्च हिमालको अवलोकन गर्न विदेशी पर्यटक पुग्ने गरेका छन् ।
