दुई वर्षपछि घर फर्किइन् बन्दना, निसर्ग अस्पतालले गर्‍यो ३१ लाख ५७ हजार उपचार खर्च मिनाहा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ की १९ वर्षीया बन्दना लिम्बु दुई वर्ष लामो उपचारपछि घर फर्किएकी छन् । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक वर्ष ११ महिना एक दिन उपचारपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो ।

कोशी प्रदेशको मोरङ जिल्लाबाट ज्यालामजदुरीका लागि डडेल्धुरा आएका बन्दनाका परिवारको आर्थिक अवस्था कमजोर रहेको थियो । छोरीको उपचार सम्पन्न भएपछि उनकी आमा धनमाया लिम्बुले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालप्रति आभार व्यक्त गरिन् ।

साइकल सिक्ने क्रममा दुर्घटना
बन्दना २०८१ साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । प्रारम्भिक उपचार डडेल्धुरा अस्पतालमा गरिए पनि थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई निसर्ग हस्पिटल रिफर गरिएको थियो । अस्पताल भर्ना भएको भोलिपल्टै उनको पहिलो शल्यक्रिया गरिएको थियो ।

उपचार अवधिमा दुईवटा मेजर शल्यक्रियासहित आवश्यक माइनर शल्यक्रिया, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

३१ लाख ५७ हजार रुपैयाँ मिनाहा
लामो उपचारका कारण ठूलो आर्थिक भार परेपछि बिरामीको पारिवारिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च मिनाहा गरेको जनाएको छ ।

अस्पतालका अनुसार यो निर्णय स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको भावनाअनुरूप गरिएको हो । अस्पतालका अध्यक्ष तीर्थराज पन्तका अनुसार बन्दनाको दैनिक जीवन सहज बनाउन एक थान ह्विलचेयर पनि प्रदान गरिएको छ ।

बन्दनाको उपचारका लागि ‘फारवेस्टर्न राइडर’का नामले परिचित भरतविक्रम शाहको पहलमा ६ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइएको थियो । अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *