नेपालको कुखुरा उद्योग यतिबेला गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण फैलिँदै जाँदा करोडौँ रुपियाँ बराबरका कुखुरा, अन्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले किसानको लगानी मात्र जोखिममा पारेको छैन, उपभोक्ताको मनोविज्ञान, बजारको माग र राष्ट्रिय खाद्य सुरक्षामा समेत प्रत्यक्ष असर पार्न थालेको छ ।
पशुपन्छी क्षेत्रमा बेला बेला देखिने बर्डफ्लु यस पटक भने अपेक्षाभन्दा फराकिलो रूपमा फैलिएको सरोकारवाला बताउँछन् ।
सुरुमा सीमित व्यावसायिक फार्ममा देखिएको सङ्क्रमण अहिले विभिन्न जिल्लामा फैलिसकेको छ । यसले कुखुरा व्यवसायसँग आबद्ध किसान, मजदुर, दाना उद्योग, ह्याचरी, ढुवानी व्यवसायी र खुद्रा व्यापारीसमेत प्रभावित भएका छन् ।
डेढ खर्बको उद्योग सङ्कटमा
नेपालको कुखुरा उद्योगमा करिब एक खर्ब ५० अर्ब रुपियाँभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसायीको अनुमान छ । लाखौँ मानिसको रोजगारी र आम्दानीको आधार बनेको यस क्षेत्रमा देखिएको सङ्कटले समग्र कृषि अर्थतन्त्रमा समेत चिन्ता थपेको छ ।
पोल्ट्री व्यवसायी दयाराम महतका अनुसार सङ्क्रमणको प्रभाव उत्पादनमा मात्र सीमित छैन, उपभोक्ताको मनोविज्ञानमा पनि गहिरो असर परेको छ ।
उनका अनुसार विशेष गरी काठमाडौँ उपत्यकामा कुखुराको मासु र अन्डाको दैनिक खपत २० देखि ३० प्रतिशतसम्म घटेको छ । “वैज्ञानिक रूपमा सुरक्षित भए पनि धेरै उपभोक्तामा अझै पनि बर्डफ्लुबारे अनावश्यक त्रास र भ्रम कायम छ,” उनले भने ।
लगानी एकै पटक समाप्त
सङ्क्रमण पुष्टि भएका फार्ममा रोग नियन्त्रणका लागि लाखौँ कुखुरा, लाखौँ अन्डा तथा ठुलो परिमाणमा दाना नष्ट गर्नु परेको छ । यसले किसानलाई ठुलो आर्थिक धक्का पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सरकारले क्षतिपूर्तिको व्यवस्था गरे पनि प्रभावित किसानले समयमै राहत नपाउँदा पुनः व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ । “जति छिटो क्षतिपूर्ति उपलब्ध हुन्छ, त्यति नै छिटो किसान व्यवसायमा फर्किन सक्छन्,” उनकाे भनाइ छ ।
किन फैलिरहेको छ बर्डफ्लु ?
पशुसेवा विभागका अनुसार कमजोर जैविक सुरक्षा (बायोसेक्युरिटी) नै सङ्क्रमण फैलिनुको प्रमुख कारण हो तर काठमाडौँ उपत्यकामा नियन्त्रणोन्मुख देखिएको छ । कोशी प्रदेशमा नियन्त्रण नजिक रहेको छ । अझै पनि काभ्रेपलाञ्चोकमा भने तीव्र गतिमा फैलिएको छ ।
फार्ममा अनियन्त्रित आवतजावत, असुरक्षित स्रोतबाट चल्ला खरिद, खुला रूपमा दाना तथा पानी राख्ने अभ्यास तथा जङ्गली चरासँगको सम्पर्कले भाइरस फैलिन सहज बनाइरहेको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।
पशु चिकित्सक डा. मनोजकुमार शाहीका अनुसार सङ्क्रमित पन्छी नष्ट गर्नु मात्रै दीर्घकालीन समाधान भने होइन । “हरेक फार्ममा वैज्ञानिक बायोसेक्युरिटीको पूर्ण पालना, नियमित निगरानी र सुरक्षित व्यवस्थापन अपनाउन सके मात्रै यस्ता सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ,” उनले बताए ।
सार्वजनिक स्वास्थ्यको चुनौती
बर्डफ्लु मुख्यतः चराचुरुङ्गीमा देखिने रोग भए पनि केही प्रकारका भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले यसलाई ‘जुनोटिक रोग’ मानिन्छ । यद्यपि नेपालमा यस वर्ष मानवमा सङ्क्रमण पुष्टि भएको छैन ।
विज्ञहरूका अनुसार पशु स्वास्थ्य र मानव स्वास्थ्यबिच समन्वयात्मक कार्य प्रणाली अझ प्रभावकारी बनाउन आवश्यक छ । प्रभावित क्षेत्रमा नियमित निगरानी, परीक्षण तथा जनचेतना अभिवृद्धि गर्न सके जोखिमलाई न्यून गर्न सकिन्छ ।
वैज्ञानिक सूचना आवश्यक
सङ्क्रमणसँगै सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहले पनि बजार प्रभावित भएको व्यवसायीको गुनासो छ । विशेषज्ञका अनुसार रोगमुक्त स्रोतबाट प्राप्त कुखुराको मासु र अन्डालाई राम्रोसँग पकाएर सेवन गर्दा सामान्य अवस्थामा स्वास्थ्य जोखिम हुँदैन । त्यसैले सरकारी निकाय, स्वास्थ्यकर्मी र सञ्चार माध्यमले तथ्यमा आधारित सूचना निरन्तर प्रवाह गरी उपभोक्तामा रहेको भ्रम हटाउनुपर्ने आवश्यकता देखिएको छ ।
दीर्घकालीन सुधारको अवसर
बर्डफ्लुले नेपालको पशुपन्छीक्षेत्रलाई एउटा महत्वपूर्ण सन्देश दिएको पशु चिकित्सक डा. वज्रकिशोर ठाकुरले बताए । आधुनिक प्रयोगशाला विस्तार, द्रुत परीक्षण प्रणाली, प्रभावकारी रोग निगरानी, किसानमैत्री बिमा, समयमै क्षतिपूर्ति तथा जैविक सुरक्षामा लगानी बढाउन सके मात्रै भविष्यमा यस्ता महामारीको असर कम गर्न सकिने उनकाे भनाइ छ ।
नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको कुखुरा उद्योगलाई जोगाउन सरकार, निजी क्षेत्र, किसान र उपभोक्ताबिच प्रभावकारी सहकार्य आवश्यक भने देखिएको छ । वैज्ञानिक व्यवस्थापन, स्पष्ट नीति र समयमै हस्तक्षेप हुन सके बर्डफ्लुको चुनौतीलाई नियन्त्रण गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सकिने विश्वास पोल्ट्री व्यवसायीको छ ।
