फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनल प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गरेको हो।
खेलको २२औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्पेनले अग्रता बनायो। खेलको २० औं मिनेटमा स्पेनका विङ्गर लामिन यमालाई फ्रान्सका खेलाडीले पेनाल्टी बक्स भित्र फाउल गर्दा स्पेनले पेनाल्टी जितेको थियो। स्पेनका लागि स्ट्राइकर मिकेल ओयारजाबालले बिना कुनै गल्ती गोल गरेका हुन्।
पहिलो हाफ पेनाल्टी गोलबाट स्पेनले १-०अग्रता बनायो। दोस्रो हाफको खेलमा पनि साविक उपविजेता फ्रान्सविरुद्ध खेलको ५८ औं मिनेटमा स्पेनले गोल गर्दै अग्रता दोब्बर बनायो। स्पेनका लागि पेड्रो पोरोले गोल गरे। डानी अल्मोको असिस्टमा उनले गोल गरेका हुन्।
सन् २०१० यता विश्वकपको फाइनलमा स्थान बनाउन नसकेको स्पेनले दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको हो। स्पेनले अर्जेन्टिना र इङ्ग्ल्यान्ड बीच हुने दोस्रो सेमीफाइनल खेलको विजेता टोलीसँग फाइनलमा उपाधिको लागि खेल्ने छ।
