बंगलादेशमा विगत केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याएको छ। बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । सबैभन्दा ठूलो प्रभाव कक्स बजार क्षेत्रमा देखिएको छ। त्यहाँ २८ जनाको मृत्यु भएको छ। उक्त क्षेत्र विश्वकै सबैभन्दा ठूलो रोहिङ्गा शरणार्थी शिविर रहेको स्थान हो ।
गत हप्ता कक्स बजारमै बाढीले विद्यालय बगाउँदा विद्यार्थी र शिक्षकसहित केहीको ज्यान गएको थियो । त्यस्तै, राजधानी ढाकाका सडकहरूमा घुँडासम्म पानी जमेपछि जनजीवन कष्टकर बनेको छ ।
हजारौं मानिस घरबारविहीन भई सरकारी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । प्रधानमन्त्री तारिक रहमानले प्रभावित क्षेत्रमा राहत र स्वास्थ्य सेवालाई तीव्रता दिन सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
मौसम पूर्वानुमान केन्द्रका अनुसार दक्षिण-पूर्वी क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि उत्तरी र उत्तर-पूर्वी भागमा अझै बाढीको जोखिम कायमै छ। जलवायु परिवर्तनका कारण मनसुनको वर्षा अघिल्ला वर्षहरूभन्दा तीव्र र अनियन्त्रित बन्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
