नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० सिरिज आयोजना गरिनेछ।
यो सिरिजको टुंगो स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पदाधिकारीबीचको बैठकपछि लागेको हो।
बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा बीसीसीआईका सचिव देवजित सैकिया सहभागी हुनुहुन्थ्यो।क्यानले सिरिजको मिति र विस्तृत खेल तालिका भने पछि सार्वजनिक गरिने जनाएको छ।
