जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ । पूरक अभियोजन समय अभावका कारण शुक्रबार दर्ता हुने भएको हो ।
यसअघि सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।
सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले बिहीबार १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले बताइन् । ‘रवि लामिछाने, छविराज जोशीसहित जोडिएको पूरक जाहेरीअनुसारको अभियोजन शुक्रबार दर्ता गर्छौं,’ उनले भनिन्, ‘पूरक अभियोजन पनि बिहीबार नै दर्ता गर्ने प्रयास समय अभावका कारण सम्भव भएन । रुजु गरेर सकिएको छ, भोलि नै दर्ता हुन्छ ।’ सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उनले बताइन् ।
थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्यो मध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।
