लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

अहिले देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

भोलि आइतबार र पर्सी सोमबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ ।

भोलि र पर्सी देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । महाशाखाले सजगता अपनाउन सबैसंग अनुराेध गरेकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *