कर्णाली नदीमा खसेको गाडीमा सवार एक जनाको शव फेला परेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार भएको दुर्घटनाको उद्धारका क्रममा नदीबाट एउटा शव निकालिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।
सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको यात्रुवाहक कर्णाली प्रदेश ०३–००१ ख. १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको हो । दुर्घटनास्थलमा फेला परेको चलानी अनुसार रास्कोट नगरपालिका वडा नम्बर २ की सिर्जना खड्काको नाम फेला परेको छ । त्यस्तै, सोही नगरपालिकाको वडा नम्बर ८ का अर्का एक व्यक्तिको नाम उल्लेख नभए पनि मोबाइल नम्बर मात्र लेखिएको पाइएको छ, तर उक्त नम्बरमा अहिले फोन लागिरहेको छैन ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाडी नदीको गहिराइमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन । घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरिएको भए पनि उनि बोल्न सक्ने अवस्थामा छैनन् । गाडीमा जम्मा कति जना यात्रु सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन ।

यातायात समितिका कर्मचारी महेश न्यौपानेले गाडीमा सवार यात्रुको संख्या एकिन गर्नका लागि बिहान काउन्टरमा खटिएका कर्मचारीसँग फोन सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए । हाल स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले बेपत्ता गाडी र यात्रुको खोजी कार्य जारी राखेका छन् ।
